मोरङ । भोटेकोशीको बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ ।
खोजीकार्य जारी रहे पनि फेला नपरेपछि, हिन्दू धार्मिक परम्पराअनुसार परिवारजनले अनोजको ‘कुशको शव’ बनाएर अन्तिम संस्कार गरेका छन् । मोरङको बेलबारी वडा नं ९ (नलबारी) का राजेन्द्रप्रसाद धमला र आमा नैनाकला कट्टेल धमलाका कान्छा छोरा अनोज भर्खर २३ वर्ष पुग्दै थिए ।
भोटेकोशीको बाढीले जीवित रहन दिएन । घरनजिकै नलबारी चोकमा पसल चलाएर परिवारको गुजारा चलाइरहेका बुबा र क्यान्सर रोगसँग लडिरहेकी आमाका लागि अनोज र उनका दाजु अनिस ठूलो आधार थिए । दाजु अनिस स्थानीय माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्यापन गराउँछन् ।
स्थानीय शिव शङ्कर श्रेष्ठका अनुसार अनोज एक मेधावी र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएका युवा थिए । कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्न उनले इटहरीमा बसेर कडा मेहनतका साथ पढे । भाषा परीक्षा उत्तीर्ण पनि भए । तर, कोरियाले मागेको सङ्ख्याभन्दा पास हुने परीक्षार्थीको सङ्ख्या धेरै भएपछि उनको कोरिया जाने सपना अपुरो रह्यो ।
तत्कालै कोरिया जाने ढोका नखुलेपछि उनी आफ्नै मामा सोमनाथ कट्टेलको ‘सम्राट टुर एण्ड ट्राभल्स’मा काम गर्न थाले । सोही क्रममा पर्यटकीय टोलीलाई धार्मिक तथा पर्यटकीय स्थल घुमाउने क्रममा यसपटक उनी ‘मानसरोवर’ जाँदै थिए । तर मानसरोवरतर्फको यात्रामा निस्किएकै बेला रसुवाको बाढीले उनीहरूलाई बड्यो ।
“पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा अप्रत्याशित घटना घट्न पुग्यो”, अनोजका सानोबुबा राजन घिमिरेले भावुक हुँदै भने, “हामीले साह्रै इमानदार र क्षमतावान् छोरो गुमाउनुपर्यो, यसले सिङ्गो परिवार र आफन्तलाई कहिल्यै नमेटिने गहिरो चोट पुर्याएको छ ।”
बाढीमा बेपत्ता भएका बिराटनगर–७ का मामा सोमनाथ कट्टेलको बुधबार नै कुशको शव बनाएर दाहसंस्कार गरिसकिएको छ भने भान्जा अनोजको भौतिक शरीर फेला नपरेपछि शुक्रबार कुशको प्रतीक बनाएर लक्ष्मीमार्गको स्थानीय घाटमा दाहसंस्कार गरिएको हो ।
विपद् परेको धमला परिवारका लागि कहालीलाग्दो रह्यो । बाढीलगत्तै अनोज बेपत्ता भएको खबर आए पनि क्यान्सर पीडित आमा र वृद्ध बुबालाई त्यो आघात सहन गाह्रो हुन्छ भनेर दाजु अनिसले मन दह्रो बनाएर साँचो कुरा लुकाएका थिए । “मानसरोवर जाने क्रममा बाढी आएकाले भाइ पर्यटकसँगै चीनतर्फ प्रवेश गरिसकेको छ, उसलाई केही भएको छैन, नेटवर्क नभएर सम्पर्क मात्र नभएको हो”, भनेर अनिसले एक सातासम्म बुबाआमालाई सान्त्वना दिइरहे । तर समय बित्दै जाँदा र भाइको कुनै अत्तोपत्तो नपाउँदा परिवारको पीडा र शङ्का झन् बढेर गयो । अन्त्यमा, अनिसले आँसु थाम्न नसकेर बुबाआमालाई भाइ बाढीमा फेला नपरेको कठोर सत्य सुनाउन बाध्य बन्नुपर्यो । दश दिनसम्म छोरा कतैबाट आउला भन्ने आशामा छटपटाएका आमाबाबुले अन्ततः कुशको प्रतीकलाई नै छोरा मानेर चित्त बुझाउनुपर्यो । रासस