विजयपुर । रसुवाको भोटेकोशी क्षेत्रमा भएको महाविपत्तिमा दिवंगत भएकाहरूको आत्माको चिरशान्ति तथा बेपत्ता भएकाहरूको सकुशल खोजीको कामनासहित सुनसरीका विभिन्न स्थानमा सामूहिक धार्मिक पाठ पारायण गरिएको छ ।

ब्राह्मण समाज नेपाल सुनसरी र वैदिक कर्मकाण्ड परिषद् सुनसरीको आयोजनामा सोमबार जिल्लाका विभिन्न मन्दिरमा भेला भएर सामूहिक रूपमा धार्मिक पाठ तथा जप गरिएको हो । सरकारले भोटेकोशी घटनाको स्मरणमा शोक दिवस घोषणा गरेपछि सोही अवसर पारेर ब्राह्मणहरूले यथाशक्ति श्रीमद्भागवत, श्रीमद्भगवद्गीता, पञ्चसूक्त, विष्णु सहस्रनाम तथा गजेन्द्रमोक्ष पाठ गरेका थिए ।

धरानस्थित गीता भवनमा सामूहिक पाठ तथा जप गरिएको थियो । त्यस्तै इटहरीको आँपगाछी, खनारको शिव मन्दिर, झुम्का, इनरुवाको मधेसा तथा बराहक्षेत्र लगायतका स्थानमा समेत धार्मिक पाठ पारायण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा ब्राह्मण समाज नेपाल र वैदिक कर्मकाण्ड परिषद्का सदस्यहरू स्वयं उपस्थित भएर धार्मिक विधिअनुसार पाठ तथा जप गरेका थिए। सो अवसरमा विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण समेत गरिएको थियो। यसैबीच, सोमबार साँझ इटहरीको तरहरास्थित शिव मन्दिरमा दिवंगतहरूको स्मृतिमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत तय गरिएको आयोजकले जनाएको छ।