विराटनगर । मोरङ कारागारको ‘बी’ ब्लकमा झडप भएपछि थप १८ जनालाई प्रशासनले स्थानान्तरण गरेको छ । सोमबार दिउँसो कारागारभित्र पुनः विवाद र अशान्ति मच्चाएपछि उनीहरूलाई विभिन्न ४ वटा कारागारमा पठाइएको हो ।
यससँगै पछिल्लो तीन दिनमा मोरङ कारागारबाट हटाइएका कैदीबन्दीको सङ्ख्या ३७ पुगेको छ । यसअघि प्रशासनले ‘बी’ ब्लकका मुख्य नाइके भारतीय नागरिक चञ्चल बरमन र मनिष विश्वकर्मासहित १९ जनालाई ७ वटा जिल्लाका कारागारमा स्थानान्तरण गरेको थियो । उनीहरूलाई हटाएको तीन दिन बित्न नपाउँदै सोही समूहका अन्य १८ जनालाई पनि स्थानान्तरण गरिएको जिल्ला कारागार मोरङका प्रमुख राजन घिमिरेले जानकारी दिए ।
“आज दिउँसो ‘बी’ ब्लकभित्र कैदीबन्दीका दुई समूहबीच आन्तरिक झगडा भएपछि स्थिति नियन्त्रणमा लिन उनीहरूलाई बाहिर निकालिएको हो” घिमिरेले भने, “यसअघि स्थानान्तरण गरिएका कैदीकै समूहका सदस्यहरू आपसमा भिडेका थिए ।”
कुन कारागारमा को–को पठाइए ?
प्रशासनका अनुसार १८ जनामध्ये १० जनालाई मकवानपुरको भीमफेदी कारागार पठाइएको छ । भीमफेदी लगिनेहरूमा मो. सरफराज, नजाम अन्सारी, राजेशकुमार कामत, सञ्जय साह, उमेशकुमार कामत, अमन सरदार, श्रीकान्त दास, शिवकुमार राम, जयबहादुर विश्वकर्मा र रमन राई छन् ।
त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) कारागारमा अफ्ताप भन्ने अपतकार आलम, ज्ञानेन्द्र ढुङ्गाना र मुकेशकुमार साहलाई पठाइएको छ । चितवन कारागारमा छिरिङ तामाङ भन्ने छिरिङ घिसिङ, मो. रिजवान र सकिम हुसेनलाई स्थानान्तरण गरिएको छ । सुनसरीको झुम्का कारागारमा इशान चौधरी र प्रेमबहादुर तामाङलाई पठाइएको कारागार प्रशासनले जनाएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले स्थानान्तरण गरिएका कैदीबन्दीहरूलाई सम्बन्धित कारागारतर्फ पठाइसकिएको र हाल कारागारको अवस्था शान्त रहेको बताए । “कारागारभित्र अशान्ति फैलाउने थप कैदीहरूलाई अन्यत्र पठाइएको छ, अहिले त्यहाँको माहोल सामान्य छ”–उनले भने ।
यसअघि को–को हटाइएका थिए ?
पहिलो चरणमा स्थानान्तरण गरिएका १९ जनामा मुख्य नाइके चञ्चल बरमन र मनिष विश्वकर्मासहित चौकीदार विशाल निरौला, कैदीहरू अजय मेहता, तपसन बरमन, मन्त्री भनिने अजय पासवान, धर्मेन्द्र राई, कुनाल सिंह, अनिल भट्टराई, राजा भनिने राजेश कामत, महमद सदाम, मोहम्मद अरवाज शेख, प्रेम कटुवाल, नजाम भनिने नजामुद्दीन मियाँ, रामकुमार चौधरी, रामकुमार श्रेष्ठ, प्रशान्त भण्डारी र करिया भनिने रविन कामत रहेका थिए । कारागारभित्र नाइकेहरूको दबदबा र कैदीबन्दीमाथि हुने चरम् शोषणका गुनासा आएपछि प्रशासनले उनीहरूलाई स्थानान्तरण गरिएको हो ।