धरान । जापानको फुकुओकास्थित समुद्र किनारमा मृत भेटिएकी झापा भद्रपुरकी नेपाली युवती लक्ष्मी राजवंशीको हत्या घटनामा तीन नेपाली पक्राउ परेका छन् ।
जापान प्रहरीले लामो अनुसन्धानपश्चात् दुई महिलासहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार २८ वर्षीया सञ्जु तामाङ, २५ वर्षीया अमिस्ता तामाङ र २२ वर्षीय प्रविन लामा पक्राउ परेका हुन् । उनीहरू फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत रहेका थिए । अमिस्ता र प्रविन चाहिँ सागा प्रिफेक्चरको तोसु सहरमा बस्दै आएका थिए ।
झापा भद्रपुर नगरपालिका–७ अन्जनी रोडकी राजवंशी गत भदौ ३ गते बुधबार बिहानै नदी किनारमा मृत फेला परेकी थिइन् भने उनी बस्ने कोठामा रगतका टाटालगायतका फेला पारेको थियो । प्रहरीले तत्कालीन समयमा गरेको प्रारम्भिक अनुसन्धानमा टाउकोमा कुनै भारी वस्तुले प्रहार गरेको हुनसक्ने अनुमान गरेको थियो । पक्राउ परेकाहरूले हालसम्म आरोप स्वीकार वा अस्वीकार गरेको विषयमा सार्वजनिक गरेको छैन । उनी सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् ।
घटनामा चुओ प्रहरी चौकीले अनुसन्धानका लागि एक कार्यदल गठन गरेको थियो । कार्यदलले लामो समय लगाई गरेको अनुसन्धानले घटना प्रेम सम्बन्धका कारणले भएको हुनसक्ने अनुमान गरेको छ । प्रविनसँग राजवंशी प्रेमसम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । प्रविनसँगै पक्राउ परेकी सञ्जु एकै घरमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रेमसम्बन्धसँग जोडिएको विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
जापानमा पछिल्लो दश महिनामा ६७ जना नेपाली नागरिकको ज्यान गएको छ । जसमध्ये २५ जनाले आत्महत्या गरेको विदेश मन्त्रालयले जनाएको छ । मृतकहरूमध्ये अधिकांश विद्यार्थी भिसामा गएर आंशिक समय (पार्ट–टाइम) काम गर्ने व्यक्तिहरू रहेको जनाएको छ । मध्य जुलाई २०२५ देखि जुन १, २०२६ को बीचमा उक्त मृत्युको रेकर्ड गरिएका हुन् ।
केही केसहरूमा चिकित्सा वा अन्य कारणहरू उल्लेख गरिएका छन् भने धेरै प्रमाणपत्रहरूमा कारण ‘अज्ञात’ भनी लेखिएको छ ।