धरान । जेन जी आन्दोलनको नाममा आगजनीबाट ध्वस्त भएको ठीक एक वर्षपछि अर्थात् भदौ २४ गते (बुधबार) देखि धरानको भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा आएको छ ।

गतवर्ष भदौ २४ गते आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्णरूपमा क्षतिग्रस्त भएको पुतलीलाइनस्थित भाटभटे पुनर्निर्माणपछि सेवामा फर्किएको हो । करिब एक वर्ष बन्द रहेको स्टोर पुनर्निर्माण गरी नयाँ स्वरूपमा सञ्चालनमा ल्याइएको मार्केट प्रशासनले जनाएको छ । पुनः सञ्चालनसँगै भाटभटेनीले धरानवासीलाई ‘फेरि सेवामा फर्किएको’ जनाएको छ ।

आन्दोलनका क्रममा धरान शाखासहित देशभरका भाटभटेनीका २१ शाखामा क्षति पुगेको थियो । तीमध्ये १२ शाखा पूर्ण रूपमा जलेर ध्वस्त भएका थिए । भाटभटेनीले विभिन्न निकायमा पेस गरेको विवरणअनुसार धरान शाखामा मात्रै ५४ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । चार जनाको शव भेटिएको थियो ।

आगजनीबाट भवन तथा पूर्वाधारमा क्षति हुनुका साथै स्टोरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री, घरायसी सामानलगायतका ठूलो परिमाणका सामग्री जलेर नष्ट भएका थिए । लुटपाट र तोडफोडबाट समेत थप क्षति भएको थियो । घटनाबाट देशभर करिब १० अर्ब ८५ करोड बराबरको क्षति भएको थियो ।

ध्वस्त भएको मितिकै दिन पुनः खुलेको धरान भाटभटेनीको पुनरागमनलाई कम्पनीले नयाँ अध्यायको सुरुवातका रूपमा लिएको छ ।