विजयपुर । धरानस्थित सैनिक आवासीय मा.वि.का कर्मचारी रिजन राई बालयौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार ४३ वर्षीय राईले एक बालिकालाई स्कुल पु¥याइदिने भन्दै मोटरसाइकलमा राखेर एकान्त स्थानमा लगेको र बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप छ ।
डिएसपी राईका अनुसारयही भदौ ५ गते नाबालिका स्कुल जाँदै गर्दा कर्मचारी राईले ‘स्कुल पु¥याइदिन्छु’ भन्दै मोटरसाइकलको पछाडि राखेका थिए । त्यसपछि केही तल एकान्त स्थानमा पु¥याई बालिकालाई समाती यौनजन्य मनसायले शरीरका संवेदनशील अङ्गमा स्पर्श गर्ने, सुम्सुम्याउने तथा यौनजन्य क्रियाकलाप गरेको उजुरीमा उल्लेख गरिएको छ । पीडित बालिकाले राईविरुद्ध बालयौन दुव्र्यवहारसम्बन्धी कसूरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
जाहेरीका आधारमा कर्मचारी राईलाई यही भदौ २१ गते नै प्रहरीले पक्राउ गरेको थियो । स्कुलका अनुसार कर्मचारी राई डकर्मी रहेको बुझिएको छ । पक्राउ परेका राईलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए । बालयौन दुव्र्यवहार गरेको पुष्टि भएमा तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना हुने कानूनी प्रावधान छ ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (३) को खण्ड (ङ) अनुसार यौनजन्य मनसायले बालबालिकाको संवेदनशील अङ्गमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने वा त्यस्तै यौनजन्य व्यवहार गर्ने कार्यलाई बालयौन दुव्र्यवहार मानिन्छ ।
कसूर प्रमाणित भएमा ऐनको दफा ७२ अनुसार तीन वर्षसम्म कैद र ७५ हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने व्यवस्था छ ।
यस्तै बालबालिका सम्बन्धी ऐनको दफा ६७ अनुसार सार्वजनिक वा निजी संस्थामा काम गर्ने व्यक्तिले बालबालिकाविरुद्धको कसूर गरेको ठहरेमा प्रचलित कानूनबमोजिम बर्खास्त गर्न सकिने र कसूरको गम्भीरता तथा प्रकृतिका आधारमा भविष्यमा बालबालिकासँग प्रत्यक्ष सम्बन्ध राखी गर्नुपर्ने कामका लागि १० वर्षसम्म अयोग्य मान्न सकिने व्यवस्था छ ।