विराटनगर । जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा लामो समयदेखि कैदीबन्दी चन्चल बर्मा र मनिष विकले प्रभाव जमाएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्दै आएको थियो । उनीहरू रहेसम्म ब्लकभित्र सहजरूपमा सर्च गर्नसमेत कठिनाइ हुने गरेको प्रहरीको भनाइ थियो ।
दुई चरणमा ३७ कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरेपछि बिहीबार ‘बी’ ब्लकमा सर्च गर्दा १० लाख तीन हजार एक सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल र आठवटा फलामे रड बरामद भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान करिब ११ बजे गरेको सर्चका क्रममा मनिष विक (विश्वकर्मा) बस्ने कोठा नम्बर १ बाट दुई थान मोबाइल, छेउको कोठा नम्बर २ बाट आठ वटा फलामे रड र ब्लकभित्र सञ्चालित किराना पसलबाट नगद बरामद भएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बरामद रकमको स्रोत र प्रयोजनबारे अनुसन्धान भइरहेको बताए । “कारागारभित्र सर्च गर्दा १० लाख तीन हजार एक सय ५५ रुपैयाँ र आठ वटा रड बरामद गरेका छौँ” उनले भने, “यो रकम के प्रयोजनका लागि राखिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।” कारागारभित्र व्यक्तिगत मोबाइल बोक्न तथा प्रयोग गर्न प्रतिबन्ध छ । आफन्तसँग सम्पर्कका लागि प्रशासनले उपलब्ध गराएको ल्यान्डलाइन प्रयोग गर्ने व्यवस्था छ । तर जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका विकको कोठाबाट दुई थान मोबाइल भेटिएपछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
कारागार प्रशासनको प्रारम्भिक छानबिनअनुसार विकले दुवै मोबाइलमा सिमकार्ड प्रयोग गरी बाहिर सम्पर्क गर्ने गरेका थिए । ती मोबाइल उनले वर्षौंदेखि प्रयोग गर्दै आएकोसमेत खुलेको स्रोतले जनाएको छ । विक अभिषेक गिरीका सवारीसाधन चालक रहेको बताइएको छ । निषेधित मोबाइल कारागारभित्र कसरी पुग्यो र लामो समयसम्म प्रशासनको निगरानीबाट कसरी जोगियो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
विकले सञ्चालनमा ल्याएको किराना पसलबाट १० लाख तीन हजार एक सय ५५ रुपैयाँ भेटिएको हो । जेलर राजन घिमिरेका अनुसार कारागार प्रशासनले रासनबाहेक कैदीबन्दीलाई दैनिक प्रतिव्यक्ति ८० रुपैयाँ ‘सिदा खर्च’ उपलब्ध गराउँछ । यो रकम १५÷१५ दिनमा वितरण हुन्छ । पछिल्लो पटक भदौ १८ मा ‘बी’ ब्लकका पाँच सय ७२ कैदीबन्दीलाई प्रतिव्यक्ति एक हजार दुई सय रुपैयाँका दरले रकम वितरण गरिएको थियो । बरामद रकम यही सिदा खर्चबापत वितरण गरिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रशासनको छ । तर कैदीबन्दीलाई वितरण गरिएको रकम कसरी कारागारभित्रकै किराना पसलमा जम्मा भयो भन्ने विषय अनुसन्धानको दायरामा आएको छ ।
मनिष विक बस्ने कोठा नम्बर १ को छेउमै रहेको कोठा नम्बर २ बाट आठ वटा फलामे रड बरामद भएका हुन् । उक्त कोठामा यसअघि तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चन्चल बर्मा बस्ने गरेका थिए । बर्मा मानव बेचबिखन तथा अपहरण मुद्दामा १५ वर्ष कैद सजाय काटिरहेका थिए । २०७० मङ्सिरमा पक्राउ परेका उनको कैद अवधि २०८५ सम्म रहेको छ । ‘बी’ ब्लकमा केही कैदीबन्दीले लामो समयदेखि प्रभाव जमाउँदै ‘समानान्तर सत्ता’ चलाएको आरोप लाग्दै आएको थियो । यही कारण त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेपछि प्रहरीले निगरानी बढाएको थियो ।
३७ जना स्थानान्तरणपछि सर्च
‘बी’ ब्लकमा प्रभाव जमाएको आरोप लागेका कैदीबन्दीसहित ३७ जनालाई दुई चरणमा अन्य कारागारमा स्थानान्तरण गरिएको हो । भदौ १९ मा १९ जना र भदौ २१ मा १८ जनालाई स्थानान्तरण गरिएको थियो । स्थानान्तरण हुनेमा विशाल निरौला, चन्चल बर्मा र मनिष विक पनि थिए ।
प्रहरीका अनुसार उनीहरू ‘बी’ ब्लकमा रहँदा सुरक्षा निकायलाई सहज रूपमा प्रवेश गरेर सर्च गर्न कठिनाइ हुने गरेको थियो । उनीहरूलाई स्थानान्तरण गरेपछि ब्लकको अवस्था सामान्य बनेको जेलर घिमिरेले बताए । त्यसपछि गरिएको सर्चमा निषेधित मोबाइलदेखि लाखौँ रुपैयाँ नगद र फलामे रडसम्म भेटिएपछि ‘बी’ ब्लकको विगतको सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठेको छ । प्रहरीले बरामद सामग्रीको स्रोत, प्रयोजन र त्यसमा संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।