विराटनगर । मोरङको सुन्दरहरँैचा नगरपालिका–७ का ४० वर्षीय उपेन्द्र खड्का शुक्रबार बिहान दुई घण्टा यात्रा गरेर विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय पुगे । विदेश जाने तयारीमा रहेका उनलाई आवश्यक कागजपत्र बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि उनी परिचयपत्र बनाउन प्रशासन कार्यालय आएका थिए ।

घरदेखि करिब ३० किलोमिटर टाढा रहेको प्रशासन कार्यालयमा पुगेपछि उनले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीड देखे । सुरक्षाकर्मीले टोकन लिनुपर्ने बताएपछि उनी कार्यालयको सहायक गेटतर्फ गए । त्यहाँबाट टोकन लिए । तर टोकन हातमा परेपछि तत्काल सेवा पाउने उनको अपेक्षा पूरा भएन । उनलाई बायोमेट्रिकका लागि कात्तिक १० गते आउनुपर्ने मिति तोकियो । अर्थात्, परिचयपत्र बनाउन उनले थप ४६ दिन कुर्नुपर्ने भयो । “घरदेखि दुई घण्टा यात्रा गरेर राष्ट्रिय परिचयपत्र बनाउन आएँ । यहाँ आइपुग्दा ४६ दिनपछि पालो आउने टोकन दिए” खड्काले भने, “मलाई वैदेशिक रोजगारीमा जान चाँडै परिचयपत्र चाहिएको छ । अब यत्रो दिन कुर्नुपर्ने भयो ।”

वैदेशिक रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन राष्ट्रिय परिचयपत्र चाहिने भएकाले ढिलो हुँदा आफ्नो काम प्रभावित हुने उनको गुनासो छ । “हामीजस्ता व्यक्तिलाई चाँडै परिचयपत्र बनाइदिए रोजगारीमा जान सहज हुने थियो”–उनले भने ।

टोकन लिएर उनी त्यसै दिन घर फर्किए । करिब ३० किलोमिटर यात्रा गरेर विराटनगर आएका उनी परिचयपत्र बनाएर होइन, ४६ दिनपछि फेरि कार्यालय आउनुपर्ने मिति लिएर फर्किए ।

टोकनको दिन पनि लाइन
राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीले टोकन पाएपछि पनि तत्काल सेवा पाउने अवस्था छैन । टोकनमा तोकिएको दिन कार्यालय आएपछि पनि लामो समय लाइन बस्नुपर्ने बाध्यता छ । धनपालथान गाउँपालिका–४ कर्सियाकी २३ वर्षीया अनुष्का ठाकुर शुक्रबार प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने लाइनमा थिइन् । उनले दुई साताअघि टोकन लिएकी थिइन् । टोकनअनुसार शुक्रबार उनको सेवा लिने दिन थियो ।

विद्यालयको पोसाकमै प्रशासन कार्यालय पुगेकी उनी घण्टौँ लाइनमा बसिन् । पालो आउन अझै १५÷२० जना बाँकी थियो । “बीचमै पढाइ छोडेर राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेको घण्टौँ भयो” उनले भनिन्, “अझै १५÷२० जनापछि मात्रै पालो आउँदैछ ।” उनका अनुसार विद्यार्थीका लागि सेवा लिन घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था असहज छ । “प्रशासनले छिटो र छरितो तरिकाले सिस्टम बनाए हामीजस्तो विद्यार्थीले पढाइ बीचमै छोडेर आउनुपर्ने थिएन”–उनले भनिन् ।

दैनिक ३०० टोकन
जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि टोकन प्रणाली लागू गरिएको हो । सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न दैनिक ३ सयवटा टोकन वितरण गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताए । “सेवाग्राहीको भीड बढेपछि हामीले व्यवस्थित गरेका हौँ । अहिले दैनिक ३ सयवटा टोकन वितरण हुन्छ” उनले भने, “त्यहीअनुसार राष्ट्रिय परिचयपत्र बनाउने गरिएको छ ।” सेवाग्राहीको चाप बढेपछि केही समय कार्यालयले बिहान ७ बजेदेखि नै सेवा सञ्चालन गरेको थियो । भदौ २९ गतेपछि भने नियमित कार्यालय समयअनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा सञ्चालन हुने कोइरालाले बताए ।

line ma  (6)