धनकुटा । भारी वर्षासँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको जोखिम र बगाउने त्रासका कारण यस क्षेत्रका एक दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् ।

साँगुरीगढी गाउँपालिका–७ स्थित डढुवा गाउँ ठूलो पहिरोको जोखिमको एउटा उदाहरण हो । करिब २७ परिवारको बसोबास रहेको यो गाउँको दुवैतर्फ पहिरो गएको छ । स्थानीयका अनुसार पूर्वतर्फको पहिरो २०५६ सालदेखि सुरु भएको हो । पहिरो बढ्दै गएपछि यसअघि नै ७ परिवार गाउँबाट विस्थापित भइसकेको स्थानीयले जनाएका छन् । पछिल्लो समय पूर्वतर्फको पहिरो केही नियन्त्रणमा आए पनि स्थानीयको जोखिम भने कायमै छ ।

यस्तै वि.सं.२०७५ सालदेखि डडुवा गाउँको पश्चिमतर्फ अर्को पहिरो सुरु भएपछि स्थानीयको चिन्ता थपिएको थियो । अहिले आएर पश्चिमतर्फको पहिरोका कारण केही परिवार विस्थापित भइसकेका छन् भने केही परिवार जुनसुकै बेला घर छाड्नुपर्ने अवस्थामा पुगेको स्थानीय जीते राईले जानकारी दिए । भिरालो जमिन, गाउँको दुवैतर्फ रहेका खोल्सा तथा कमेरे खोलाले जमिन कटान गर्दै लगेपछि पहिरो फैलिँदै गएको स्थानीयवासी  उनल ेबताए । वर्षाको समयमा पानीको बहाव बढ्दा पहिरो अझ सक्रिय हुने भएकाले हरेक वर्ष वर्षायामलाई त्रासका रूपमा सामना गर्दै आएको राईको भनाइ छ । राईका अनुसार सुख्खा पहिरोको कारणले गर्दा पनि जोखिम उस्तै रहेको छ । त्यहाँका बासिन्दालाई वर्षा नहुँदा पनि सुख्खा पहिरो गइरहने समस्याले गर्दा जोखिम उत्तिकै हुने गरेको छ ।

डढुवा गाउँको अवस्था साँगुरीगढीका अन्य बस्तीको भन्दा फरक छैन । १० वटा वडा रहेको गाउँपालिकाका धेरै स्थान पहिरोको जोखिममा छन् । गाउँपालिकाका इन्जिनियर दिपक राईका अनुसार तुलनात्मक रूपमा वडा नं. १, ५, ६, ७ र ८ मा पहिरोको समस्या बढी देखिएको छ । गाउँपालिकाले संकलन गरेको विवरण अनुसार अहिले गाउँपालिकाभरि करिब १ सय २० परिवार पहिरोको जोखिममा रहेका छन् । जसमा एक दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेका छन् ।

पहिरोले घर जोखिममा परेपछि विस्थापित भएका परिवारका लागि नयाँ ठाउँमा बसोबासको व्यवस्था गर्नु चुनौतीपूर्ण छ । खेतीपातीमा निर्भर परिवारका लागि घरसँगै खेतबारीसमेत छाड्नुपर्ने अवस्था आउँदा उनीहरूको जीविकोपार्जनमा समेत असर पुग्ने उनीहरूको गुनासो रहेको छ । गाउँपालिकाले अति जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । तर भौगोलिक विकटता, सीमित स्रोतसाधन र उपयुक्त सुरक्षित स्थानको अभावका कारण जोखिममा रहेका सबै परिवारलाई तत्काल स्थानान्तरण गर्न सहज नभएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । उनले मुक्तेन गाउँका २४ घर अति जोखिममा रहेको बताए । पहिरोबाट बच्न सुरक्षित ठाउँको लागि जस्को जग्गा छ, उनीहरूलाई सार्ने तयारी भैरहेको छ । जसको जग्गा सुरक्षित ठाउँमा छैन, जहाँ बस्यो त्यहीँ मात्र छ अथवा सुरक्षित ठाउँमा जमिन नभएकाहरूका लागि ठूलो समस्या भइरहेको अध्यक्ष रुम्दालीको भनाइ छ ।  

पहिरोको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विभिन्न प्रयास गरिरहेको अध्यक्ष रुम्दाली राईको भनाइ छ । पहिरो तथा भूक्षय रोक्न जोखिमयुक्त क्षेत्रमा वृक्षरोपण गर्ने, पर्खाल लगाउने लगायतका काम भइरहेको गाउँपालिकाको भनाइ छ । गाउँपालिका अध्यक्ष राईका अनुसार जोखिमको वास्तविक अवस्था पहिचान गर्न भूगोलविद्सहितको टोलीमार्फत प्रभावित क्षेत्रको अध्ययन गराइएको छ । अध्ययनबाट प्राप्त विवरणका आधारमा जोखिम न्यूनीकरण र प्रभावित परिवारको सुरक्षाका लागि आवश्यक योजना बनाउने प्रयास भइरहेको छ ।

त्यसैगरी पहिरोबाट अति प्रभावित परिवारलाई स्थानान्तरण गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ । तर, प्रदेश र सङ्घीय सरकारको बेवास्ताका कारण ढिलाइ भएको गाउँपालिका अध्यक्ष राईले आरोप लगाएका छन् ।

कमजोर भूगोल र अव्यवस्थित सडक 
साँगुरीगढीमा पहिरोको समस्या प्राकृतिक तथा मानवीय दुवै कारणसँग जोडिएको छ । कच्चा पहाड, भिरालो जमिन तथा खोलानालाको कटानका कारण यहाँको जमिन पहिरोको जोखिममा परेको हो । यस्तै पछिल्लो समय जथाभावी खनिएका सडकले पनि जोखिम थप बढाएको इन्जिनियर राईको भनाइ छ । सडक निर्माणका क्रममा पहाड काट्दा जमिनको प्राकृतिक सन्तुलन बिग्रिने र वर्षाको पानीको निकास व्यवस्थित नहुँदा सडक आसपासका क्षेत्रमा भूक्षय तथा पहिरो जाने गरेको प्राविधिक राईले बताए ।

धनकुटाको दक्षिणी क्षेत्रमा पर्ने साँगुरीगढी गाउँपालिका महाभारत पर्वत शृंखलाको क्षेत्रमा अवस्थित रहेको छ । यहाँको भू–बनोट जिल्लाका माथिल्ला पहाडी क्षेत्रको तुलनामा कमजोर रहेको इन्जिनियर राईले बताए । प्राकृतिक रूपमा कमजोर भू–भागमा अव्यवस्थित सडक निर्माण र पानीको उचित व्यवस्थापन नहुँदा पहिरोको समस्या थप जटिल बन्दै गएको उनी बताउँछन् ।

sangurigadi-pahiro-3-8