विजयपुर । धरानमा बाबा गणिनाथ गोविन्दजी तथा माता खेमा सतीको जन्मोत्सव विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ ।
हलुवाई सेवा समाज धरानको आयोजनामा शनिबार आयोजित जन्मोत्सव समारोह समाजका अध्यक्ष बाबुलाल शाहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघा प्रमुख अतिथिका रूपमा सहभागी थिए । समारोहमा वरिष्ठ बालरोग विशेषज्ञ डा। लोकराज गुप्ता, धरान–१७ का कार्यवाहक वडाध्यक्ष मनिष विष्ट, हलुवाई सेवा समाजका पूर्वअध्यक्षद्वय गोवर्धन शाह र रविन शाह लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
जन्मोत्सवका अवसरमा धार्मिक नृत्य, परम्परागत झाँकी लगायत विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । साथै बाबा गोरखनाथको विशेष पूजाआजा तथा आराधना गरिएको आयोजकले जनाएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव तथा मौलिक संस्कृतिको संरक्षण र निरन्तरताका लागि कार्यक्रम आयोजना गरिएको हलुवाई सेवा समाजले जनाएको छ । समारोहमा स्थानीय जनप्रतिनिधि, चिकित्सक, सामाजिक अभियन्ता तथा समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।