विजयपुर । जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवामा रहेको आवेदनको चाप घटाउन ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन गर्ने भएको छ ।

अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक तथा अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । अभियान आगामी असोज १५ गतेसम्म सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

अभियानअन्तर्गत कार्यालयले दैनिक बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्नेछ । सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालनमा रहने कार्यालयले जनाएको छ । हाल राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा लिन आउने सेवाग्राहीको चाप बढेकाले पालो पर्खिरहेका आवेदकहरूको संख्या शून्यमा झार्ने लक्ष्य राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनलाइन आवेदन गरी पालो पर्खिरहेका सेवाग्राहीलाई अभियान अवधिमा आवश्यक सक्कल कागजातसहित कार्यालयमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।