भद्रपुर । झापाका दुई व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय झापाले  म्याद गुज्रिएका र बजारमूल्यभन्दा दोब्बर बढी मूल्यमा सामान बिक्री गरेको भन्दै कारबाही गरेको छ ।

कारबाहीमा पर्नेहरूमा मेचीनगर–९ स्थित दास किराना पसल र बुद्धशान्ति–३ बुधबारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्स रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

घटना विवरणअनुसार भदौ २२ गते मेचीनगर–९ स्थित दास किराना पसलले गाईभैंसीलाई खुवाइने दाना म्याद गुज्रिएको अवस्थामा बिक्री गरेको भन्ने उपभोक्ता जागरण अभियान नेपालमार्फत् गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा खाद्य प्रविधि कार्यालय, इलाका प्रहरी कार्यालय, वडाकार्यालयसमेतको उपस्थितिमा उक्त पसलको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा वीरगञ्जको प्रो–बायोटेक इन्डष्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’ का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात् ४ सय ९० किलोग्राम दाना म्याद गुज्रिएको अवस्थामा बरामद भएको थियो । म्याद गुज्रिएको दाना बिक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदनका आधारमा दुई लाख रुपैयाँ जरिबाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी बुद्धशान्ति–३ बुधबारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्सले प्रचलित बजारमूल्यभन्दा दोब्बर बढी मूल्यमा काँडेतार बिक्री गरिरहेको भन्ने उजुरी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय र उपभोक्ता हित संरक्षण संस्थाका प्रतिनिधिसमेत रहेको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा टोलीले आवश्यक अनुसन्धानका लागि शिवम् ट्रेड एन्ड सप्लायर्सका प्रोप्राइटरलाई तीन दिनभित्र आर्थिक वर्ष २०८२÷०८३ का बिलबीजक, खाता र अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिएको छ ।