काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा यात्रुबाहक बसमा आगलागी हुँदा चालक जलेर गम्भीर घाइते भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार रिद्धीसिद्धी यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगालगी भएको हो । आगलागीमा चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा जलेर गम्भीर घाइते भएका छन् । उनलाई तत्कालै उद्धार गरी कीर्तिपुरस्थित जलन अस्पतालमा लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

आगलागीको कारण भने चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीचको विवाद भएको बताइएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गर्न समिति गठन गरिएको छ । यस घटनाको विषयमा सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो क्लिप सार्वजनिक भएको छ । जसमा चालकले ‘आफू मर्न तयार रहेको तर फाइन नर्तिेन’ भनी बोलेको सुनिन्छ ।

यसका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको छ । एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिलाई पाँच दिनको समय दिइएको रानीपोखरीका एआईजी सुशील सिंह राठौरले जानकारी दिएका छन् ।

भिडियोमा चालकले आफूले ट्राफिक प्रहरीतर्फ देखाउँदै आफूले ‘रेस्पेक्ट’ गरेको, माफी मागेको तर जरिबाना तिराउन खोजिएको गुनासो गर्छन् । यही घटनाक्रम बढ्दै जाँदा आगलागी भएको देखिन्छ । यस विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गरी अगाडि बढ्ने उल्लेख गरिएको छ ।