भोटेकोशी–त्रिशूली प्रलयको विपत्तिबीच प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन न्युयोर्क जाँदै छन् । यो भ्रमण प्रधानमन्त्रीका लागि केवल औपचारिकता वा कर्मकाण्डमा सीमित हुनु हुँदैन । अन्तर्राष्ट्रियजगत्मा उनीप्रतिको ‘कम उमेरका हिपहप स्टार’ भन्ने हल्का छापलाई चिर्दै परिपक्वता, कूटनीतिक कौशल र वैचारिक स्पष्टता प्रस्तुत गर्ने यो सुनौलो अवसर हो । राष्ट्र सङ्घको यो मञ्चमा उभिएर बोल्दा केही कुरामा विशेष ध्यान दिन जरूरी छ । कतिपय बुद्धिजीवीले सुझाए जस्तो महाशक्ति राष्ट्रहरुलाई भाषणमै थर्काएर ठाउँका ठाउँ क्षतिपूर्ति झार्ने लहडमा प्रधानमन्त्री बहकिनु हुँदैन ।
आजको बदलिँदो भूराजनीतिक जटिलता बुझेर तथ्य, तर्क र आत्मविश्वाससहित आफ्ना कुरा राख्नुपर्छ । यस भ्रमणका क्रममा विश्व मञ्चमा आफ्नो बौद्धिक गहिराइ देखाउने, अमेरिका, चीन र भारतलगायत विभिन्न देशका प्रमुखहरुसँग सघन संवाद गर्ने, भाषा र कूटनीति बुझ्ने योग्य विज्ञहरुलाई सल्लाहकारको रुपमा साथमा राख्ने तथा राजनीतिभन्दा माथि उठेर अमेरिकामा रहेका नेपालीहरुको अनुभव सुन्ने काम गर्नुपर्छ । प्रधानमन्त्री साहको यो यात्रा बाहिरको कूटनीति सुधार्ने अवसर मात्र होइन, भित्रको एक्लोपन तोड्ने माध्यम पनि बन्नुपर्छ । पछिल्लो समय उनी आफ्नो शैली र सल्लाहकारहरुको घेराका कारण देशभित्र क्रमशः एक्लिँदै गएको आभास हुन्छ ।
भोटेकोशी–त्रिशूली प्रलयको उद्धार र राहतमा देखिएको समन्वयको कमजोरीले पनि यो एक्लोपनलाई थप प्रष्ट पारेको छ । लोकतन्त्र कुनै एक्लो लडाइँ होइन; यो त सामूहिक समस्या र रहरहरुको सामूहिक व्यवस्थापन गर्ने प्रणाली हो । प्रधानमन्त्रीले दल, स्थानीय निकाय, विज्ञ र राज्य संयन्त्रलाई पन्छाएर एक्लै अघि बढ्न खोज्नु गम्भीर भूल हुनसक्छ । छिमेकी देशहरु र आन्तरिक राजनीतिक शक्तिहरुसँग विश्वासको वातावरण बनाउन नसक्दा सरकार कमजोर देखिँदै गएको छ ।
प्रसिद्ध दार्शनिक जीन पल सात्र्रको भनाइ जस्तै–यदि कोही एक्लो हुँदा एक्लोपन महसुस गर्छ भने त्यो गलत सङ्गतको परिणाम हो । प्रधानमन्त्री साहले आफ्नो वरपरको सङ्गत र कार्यशैली सुधार गर्न आवश्यक छ । राष्ट्र सङ्घको यो यात्राबाट फर्किंदा उनले विश्वमा मात्र होइन, स्वदेशमा पनि संवादका ढोकाहरु फराकिलो बनाउनुपर्छ । लोकतन्त्रमा एक्लो हिँडाइको होइन, सहकार्य र समन्वयको जित हुन्छ ।