भद्रपुर । एक बङ्गुर फार्म पछाडि गाडिएको अवस्थामा एक व्यक्तिको कङ्काल मात्र फेला परेको छ ।
झापाको मेचीनगर–७ गैरीगाउँमा कङ्काल फेला परेको हो । सो कङ्काल करिब दुई वर्षदेखि बेपत्ता काठमाडौँका दिलानाथ बजगाईंको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।
हत्यामा संलग्न रहेको आशङ्कामा मेचीनगर–३ का राम भनिने गुप्तबहादुर सिंह र भारत घर भएका सञ्जय लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता रञ्जन अवालेले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई मानिस अपहरण गरी बेपत्ता बनाएको कसूरमा अनुसन्धान जारी रहेको छ ।
लामो समयदेखि सम्पर्कविहीन रहेका काठमाडौँका बजगाईंको कङ्काल हुन सक्ने प्रारम्भिक आशङ्का गरिएको प्रहरी प्रवक्ता अवालेले बताए । घटनाको वास्तविकता, कङ्कालको पहिचान तथा घटनामा संलग्नताको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फोरेन्सिक जाँचका लागि विशेषज्ञ चिकित्सकको टोली संलग्न रहेको र उक्त कङ्काल कसको हो भन्ने विवरण छिट्टै सार्वजनिक गरिने डिएसपी अवालेले जानकारी दिए ।






























