विराटनगर । विराटनगरमा नेपाली नागरिकका नाममा फर्म दर्ता गरेर चिनियाँ नागरिकले व्यापार सञ्चालन गरिरहेको अर्को घटना सार्वजनिक भएको छ ।
विराटनगर महानगरपालिका-२ डिएसपी रोडमा सञ्चालित एभरपिक सप्लायर्समा भिसाको सर्तविपरीत चिनियाँ नागरिकले व्यापार गरिरहेको अनुगमनका क्रममा खुलेको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ की राधिका बस्नेत कार्कीका नाममा फर्म दर्ता भए पनि त्यसको कारोबार चिनियाँ नागरिक लि जोसिज्याकले सञ्चालन गर्दै आएको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेशकुमार झाले बताए । सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य कार्यालय र आन्तरिक राजस्व कार्यालयसहितको संयुक्त टोलीले पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद बिल, खरिद स्रोत र कारोबारसम्बन्धी कागजात माग गरिएको छ । फर्मको दर्ता प्रकृति, राजस्वमा देखाइएको कारोबार, सामानको खरिद तथा वास्तविक रूपमा व्यवसाय सञ्चालन गर्ने व्यक्तिबारे अध्ययन भइरहेको झाले बताए ।
भिसाको सर्तविपरीत व्यापारमा संलग्न रहेको पाइएपछि प्रहरीले लि जोसिज्याकलाई नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाउने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले बताए ।
विराटनगरमा नेपाली नागरिकका नाममा फर्म दर्ता गरेर चिनियाँ नागरिकले व्यापार सञ्चालन गरेको भेटिएको यो दोस्रो घटना हो । यसअघि विराटनगरको सेन्ट्रल मलमा सञ्चालित ‘योनो मार्ट’ मा पनि यस्तै प्रकृतिको घटना भेटिएको थियो । गत असोज ८ मा उक्त पसल सञ्चालन गर्दै आएकी चिनियाँ नागरिक सीए जिङलानलाई प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाएको थियो ।
अनुसन्धानका क्रममा सीएले नेपालमा लगानी गर्ने उद्देश्यले उद्योग विभागबाट बिजनेस भिसाका लागि सिफारिस लिएको खुलेको थियो । तर, भिसासँग सम्बन्धित काम नगरी पसल सञ्चालन गरेको पाइएको थियो । अनुगमनका क्रममा उनको साथमा सक्कल राहदानीसमेत फेला नपरेको अधिकारीहरूले बताएका थिए ।
पछिल्ला घटनाले नेपाली नागरिकका नाममा दर्ता भएका व्यवसायमा वास्तविक लगानीकर्ता र सञ्चालक विदेशी नागरिक भए-नभएको विषयमा प्रशासनको चासो बढाएको छ । व्यक्तिगत फर्म दर्ता गरी आयात-निर्यात तथा स्थानीय व्यापार गर्ने उद्देश्य देखाइए पनि वास्तविक कारोबार कसले सञ्चालन गरिरहेको छ भन्नेबारे सम्बन्धित निकायले कागजात अध्ययन गरिरहेका छन् ।
प्रशासनले फर्म दर्ता, राजस्व विवरण, महानगरपालिकामा गरिएको व्यवसाय दर्ता तथा सामान आयात र खरिदसम्बन्धी कागजातसमेत अध्ययन गरिरहेको जनाएको छ । पछिल्लो घटनाको अनुसन्धानबाट व्यवसाय सञ्चालनको वास्तविक अवस्था र त्यसको कानूनी पक्ष स्पष्ट हुने अधिकारीहरूको भनाइ छ ।

































