धरान । धरान-११ स्थित ज्ञानोदय र धरान ६ स्थित सरस्वती मा.वि.मा शिक्षकको माग राखी आन्दोलनरत पक्षमध्येका रोजन शङ्करले ‘अनसन’ कै समयमा असोज ९ गते फिनेल (फिनाइल) खाएको विषय र त्यससँग सम्बन्धित जोडिएको पक्षले सामाजिक सञ्जालसँगै धरानमा गर्माएको छ । तर यो अवस्था आइपुग्नुको कथा र नालीबेली छुट्टै छ ।
नालीबेलीको पटकथामा स्थानीय सरकार जोडिन्छ । किनकि नेपालको संविधानको अनुसूची ८ मा स्पष्टसँग आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । उक्त अधिकारअनुसार सामुदायिक विद्यालयको हकमा शिक्षकको पदपूर्ति, दरबन्दी मिलानलगायतको जिम्मेवारी उसको हो । वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठका अनुसार संविधानले नै स्थानीय सरकारलाई पूर्णतः अधिकार दिएको हो । तर, आफ्नो अनुकूल र आफू हाबी हुने गरी ऐन बनाएको हुन्छ । सोहीअनुसार समिति गठन गरेको हुन्छ । “कतिपय शिक्षासम्बन्धी मुद्दा हेर्दा मैले स्वार्थमिलित कानून बनाएको भेटेँ” –उनले फोनसम्पर्कमा भने ।
धरान-११ को ज्ञानोदय मा.वि.मा तत्कालीन उच्च मा.वि. तहको नेपाली शिक्षकको अभाव भएको करिब तीन वर्ष पुग्न लाग्यो । तर बीचमा दरबन्दी मिलानतर्फ स्थानीय सरकारले कुनै पनि पहल गरेको देखिँदैन ।
खासमा कहानी अब सुरु हुन्छ-करिब दुई वर्षअघिदेखि अभाव रहेको शिक्षक पदपूर्ति गर्न २०८२ साल पुस १७ गते ज्ञानोदय मा.वि.ले नेपाली, अङ्ग्रेजी र लेखा गरी तीन जनाको विज्ञापन खोल्छ । उक्त विज्ञापन खोलेपश्चात् विवादका कारण मुद्दासम्म पर्छ र खोलिएको विज्ञापनअनुसार पदपूर्ति हुँदैन । एकै पटक २०८३ साल असार २२ गते सोही दरबन्दी कायम गर्नका लागि अर्को विज्ञापन खोलिन्छ । विज्ञापन खोलिए पछि लेखातर्फ २१ जना, नेपालीमा १५ जना र अङ्ग्रेजीमा करिब १० जना नाम दर्ता गराउँछन् । सोहीअनुसार साउन १६ गते परीक्षाको मिति तोकिन्छ । परीक्षाको तयारी भएको ठीक अघिल्लो रात नेपाली विषयको परीक्षा नहुने भनी तत्कालीन प्रधानाध्यापक अमर चेम्जोङले सम्बन्धित परीक्षार्थीहरूलाई ‘परीक्षा स्थगित’ भयो भनी फोनमा जानकारी गराउँछन् ।
यो परीक्षा रोक्नुको खास कारण देखाइन्छ-सुनसरीको दक्षिणी इलाका देवानगञ्ज गाउँपालिका-३ को कप्तानगञ्जमा भएको विवादपश्चात् जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा । तर यो परीक्षा रोकिनुको प्रमुख कारण चाहिँ अर्कै छ । खासमा परीक्षा गराउँदा सम्बन्धित विषयका विषय विज्ञ आवश्यकता पर्छ । त्यसका लागि प्रअ चेम्जोङ पत्र लिएर धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिहान करिब १० बजे पुग्छन् र क्याम्पस प्रमुख चन्द्रकुमार राईलाई पत्र थमाउँछन् ।
क्याम्पस प्रमुख राईले ब्लाष्टकर्मीलाई भनेअनुसार उक्त पत्र नेपाली विभागमा पठाइन्छ र दुई जना विज्ञको नाम लेखेर तयार पारिन्छ । सो पत्र पनि प्रअ चेम्जोङ आफैले सोही दिन साँझतिर अर्थात् साउन १५ गते नै लिएर गएको क्याम्पस प्रमुख राईको भनाइ थियो । यस विषयमा विषयविज्ञ नियुक्त भएकाहरूमध्ये एकजनासँग ब्लाष्टकर्मीले फोनमा वार्तालापसमेत गरेको थियो । महेन्द्र क्याम्पसले पठाउन लागेको विषयविज्ञबाट ‘काम फत्ते नहुने ठानेर’ एकाएक अर्को कारण देखाई परीक्षा रोकिन्छ ।
शिक्षक पदपूर्ति गर्ने, दरबन्दी मिलान गर्नेलगायतको जिम्मेवारी पाएको धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा त्यतिबेला ‘तैँ चुप मै चुप’ को अवस्थामा थियो । भोलिपल्ट अर्थात् साउन १६ गते अङ्ग्रेजी विषय र लेखाको मात्रै परीक्षा हुन्छ । जहाँ नेपाली विषयको परीक्षा रोकिएको थियो । के कारणले रोकिएको भनी स्थानीय सरकारले कारण देखाउन उचित ठानेको देखिँदैन ।
यस विषयमा ब्लाष्टकर्मीले तत्कालीन अवस्थामा शिक्षा महाशाखाका अधिकृत ध्रुवराज खड्कालाई बुझ्दा उनले पनि ‘प्रअ चेम्जोङ’ कै भाषा प्रयोग गरेका थिए । लेखाको विषयमा प्रअ चेम्जोङले आफ्नै श्रीमती तृष्णा लिम्बूलाई छनौट गरेका कारण वैकल्पिक उम्मेदवार दीपा भट्टराईले उजुरी दिएकी थिइन् । जसले गर्दा उक्त पद पनि हाल रिक्त नै छ । यही घटनासँग जोडेर स्थानीय सरकारका प्रमुख अर्थात् कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले आफ्नो तजबिजी अधिकार प्रयोग गरेर ज्ञानोदयका प्रअको जिम्मेवारी खोस्छन् भने अङ्ग्रेजी विषयका शिक्षक ऋद्धिबहादुर राईलाई काजमा खटाउँछन् ।
खासमा यहीँबाट नयाँ पटकथाको प्रारम्भ हुनपुग्छ । नयाँ पटकथामा भने स्थानीय सरकार आफै समस्यामा फस्न पुग्छ । स्थानीय सरकारको लाचारीपनबाट आजित भएका विद्यार्थीहरूले पनि ‘के निहुँ पाऊँ कनिका बुकाऊँ’ भन्ने उखान झैँ आन्दोलित हुन पुग्छन् । विद्यार्थीहरूको प्यारो र विषयमा पनि दख्खल राख्ने शिक्षकलाई एक्कासि काजमा खटाए पछि ‘भुसको आगो’ झैँ विद्यार्थीहरू आन्दोलित हुन पुग्छन् । शिक्षकको माग गर्दै धरान उपमहानगरपालिकामा घेराउ मात्रै गर्दैनन्, नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै अनसन बस्न पुग्छन् ।
यही घटनाक्रममा जोडिन पुग्छन्-रोजन शङ्कर । खासमा उनी ज्ञानोदय तथा सरस्वती मा.वि.मा अध्ययनरत विद्यार्थी पनि होइनन् । उनी आफूलाई बालअधिकारकर्मीको रूपमा व्याख्या गर्दै आइरहेका छन् । अनसन बढ्दै जाँदा रोजन शङ्करले असोज ९ गते फिनेल खान पुग्छन् । घटनापश्चात् फिनेल ल्याउने र ल्याइदिने समूहको खोजी गर्दै जाँदा धरान उपमहानगरपालिकाको सिसीटिभी फुटेजमा रोजनका लागि फिनेल ल्याइदिनेमा सौगात विक रहेको देखिन्छ । उनलाई कार्यवाहक नगर प्रमुख बेघाले प्रश्न गर्दा आफूलाई सञ्जिता धमलाले दिएको भनी बताएका छन् ।
यस घटनाबारे सञ्जिता धमलालाई ब्लाष्टकर्मीले फोन गरी बुझ्दा उनले भनिन्, “घटनामा मेरो नाम नियोजित रूपमा भन्न लगाइएको छ । यो सबै भ्रामक हो । मेयर र मेयरको आसेपासेको षड्यन्त्र हो । त्यो भाइ (सौगात) ले पनि मसँग भर्खरै माफी मागेको छ । मबाट गल्ती भएको छ भनेर भनेको छ, त्यो भिडियो नै मैले हालेको छु” उनले भनिन्, “यो एकदमै भ्रमित पार्ने काम भयो । मैले कहाँनिर दिएँ, कसरी दिएँ, त्यो आउनुपर्यो नि ? त्यो प्रमाणित गरे पनि म हदैसम्मको कारबाही भोग्न तयार छु ।”
यस घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोमा (सरिन) तामाङ पनि जोडिएका छन् । उनले सामाजिक सञ्जालमा मङ्गलबार साँझतिर गम्भीर प्रश्न उठाउँदै लेखेकी छन्, “शिक्षामा घिनलाग्दो राजनीति किन भयो ? यतिका वर्ष किन गरे ? कसको इन्ट्रेस थियो नियुक्तिमा ? अहिलेसम्म समस्या समाधान नहुनु र नगर्नुमा जिम्मेवार को हो भन्ने मात्रमा म अडिग थिएँ । म उपस्थित हुनुमा बिहानै आन्दोलनरत विद्यार्थीहरू पालिकामा बिहानैदेखि भोकै छन् भनेको सुनेर म दौडेर आउनु ठूलो गलत भयो । आउँदा दिनहरूमा धेरै पटक सोच्ने दिन आयो ।”
फिनेल पिउने रोजन शङ्करलाई कार्यवाहक नगर प्रमुख बेघाले मङ्गलबार जुस पिलाएर अनसन घटनाको अन्त्य भएको उल्लेख गरिएको छ । यसबारे पनि गोमा तामाङले लेखेकी छन्, “खैर, सरिनलाई विवादास्पद बनाएर भए पनि विद्यार्थीहरूको माग पूरा भयो । अनसन तोड्नुभएछ, तपाईंहरू दुवैलाई बधाई छ । आउँदा दिनहरूमा जवाफ दिन सक्ने आँट राख्नुहोला ।” स्थानीय तहलाई पूर्णतः अधिकार भएकोले पनि यो घटनाको प्रमुख दोषी स्थानीय सरकार र कार्यवाहक नगर प्रमुख बेघा नै हुन् भनी अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना र प्रश्न उठिरहेको छ ।
यस विषयमा शिक्षासेवी डा. राजेन्द्र शर्माले तीन वर्षदेखि अड्किनुको पछाडि राजनीतिक दलहरूको खिचातानी र सबैले आफ्नो मान्छे भर्ती गर्न खोज्ने चलनका कारण तन्किँदै आएको बताए । उनले थप अगाडि भने, “दोषी त स्थानीय सरकार हो । शिक्षा प्रशासन नै हो । तर दोषको भागी चाहिँ शिक्षा प्रशासनलाई मात्रै नदिई मैले चाहिँ तीनवटा कारण देखेको छु । एउटा लहडमा चल्ने नेतृत्व, खिचातानी गर्ने राजनीतिक दल र बेवास्ता गर्ने अभिभावक भएका कारणले यो समस्या सिर्जना भएको हो ।”
































