विराटनगर । विराटनगर महानगरपालिका-५ सम्झना टोलवासी ५८ वर्षीय निर्माण व्यवसायी राजमणि न्यौपानेविरुद्ध जिल्ला अदालत मोरङमा बलात्कारको प्रयास गरेको आरोपमा मुद्दा दायर भएको छ ।

१४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको अभियोगमा उनीविरुद्ध मोरङ अदालतमा बिहीबार मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् मोरङ प्रहरीले बिहीबार न्यौपानेविरुद्ध ‘जबरजस्ती करणी उद्योग’ मा अभियोगपत्र दर्ता गरेको छ । निर्माण व्यवसायी सङ्घ मोरङका पूर्वमहासचिवसमेत रहेका न्यौपानेले गत भदौ २६ गते विराटनगर-४ स्थित नोबेल अस्पतालअगाडिको एक होटलमा लगेर ती किशोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोगपत्रमा उल्लेख छ ।

घटनाको भोलिपल्ट भदौ २७ पीडित किशोरीले दिएको जाहेरीका आधारमा प्रहरीले न्यौपानेलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक अनुसन्धान पूरा गरी बुधबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार प्रतिवादी न्यौपानेको शुक्रबार अदालतमा बयान लिइनेछ र बयान सकिएलगत्तै सोही दिन थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी, साधारण तारेखमा छाड्ने आदेश गर्नेछ ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार जबरजस्ती करणी र त्यसको प्रयास (उद्योग) लाई गम्भीर फौजदारी कसूरका रूपमा व्याख्या गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) को खण्ड (ग) अनुसार १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी बालिकामाथि जबरजस्ती करणी भएमा १२ वर्षदेखि १६ वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।

करणी उद्योग प्रयासमा अपराध संहिताको दफा ४५ अनुसार कुनै कसूर गर्न उद्योग (प्रयास) गर्ने व्यक्तिलाई सो कसूर पूरा भएको भए हुने सजायको आधा सजाय हुने व्यवस्था छ । तसर्थ, पीडित बालिका १४ वर्षकी भएकाले अभियोग प्रमाणित भएमा न्यौपानेलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय हुनसक्छ ।

यसबाहेक संहिताको दफा २२८ बमोजिम कसूरदारबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराउनुपर्ने र पीडित राहत कोषमा समेत रकम जम्मा गराउनुपर्ने कानूनी प्रावधान छ । यस्तै १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवल गाउँपालिका-३ का ३५ वर्षीय लोकेशकुमार माझीलाई बुधबार राति पक्राउ गरेको हो । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ भने मुलुकी अपराध संहिताको दफा २१९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।