विराटनगर । स्नातक तहको पढाइ पूरा गरेपछि पनि रोजगारीको अवसर नपाएकी मोरङ कटहरी-६ की २७ वर्षीया सुष्माकुमारी मगर अहिले नगर प्रहरीको जागिरका लागि प्रतिस्पर्धामा छिन् । एक वर्षअघि बीएड उत्तीर्ण गरेकी उनी आफूले पढेको विषयअनुसारको काम नपाएपछि छिमेकी विराटनगर महानगरपालिकाले नगर प्रहरीका लागि आवेदन खुलाएको थाहा पाएर शुक्रबार फाराम भर्न आइपुगिन् ।
विराटनगर महानगरपालिकाको नगर प्रहरीसम्बन्धी आवेदन बुझाउने कार्यकक्षबाहिर भेटिएकी सुष्मा कागजात मिलाउँदै थिइन् । छिमेकी पालिकाले नगर प्रहरीका लागि ३५ जना माग गरेको थाहा पाएपछि उनी आवेदन दिन विराटनगर आइपुगेकी हुन् ।
“बेरोजगार भएर बस्नुभन्दा छिमेकी पालिकामा भए पनि जागिर गर्न पाए राम्रो हुन्छ भनेर आवेदन दिन आएकी हुँ” उनले भनिन्, “अब छनोट हुन्छु कि हुन्न, त्यो त प्रक्रिया पूरा भएपछि थाहा हुन्छ ।”
उनले आफूले स्नातक तह उत्तीर्ण गरेको सुनाइन् । तर आवेदनकै क्रममा रहेकाले आफ्नो तस्बिर खिच्न भने मानिनन् । “भर्ना भएपछि मिडियामा आएर बोलौँला” उनले भनिन्, “अहिले त आवेदन मात्रै दिँदैछु, प्रक्रिया अझै लामो छ ।”
सुष्माले २०७१ सालमा एसईई र २०७४ सालमा प्लस टु उत्तीर्ण गरेकी हुन् । उच्चशिक्षा पूरा गरेपछि पनि रोजगारीको अवसर नपाएकी उनी अहिले स्थानीय तहमा उपलब्ध रोजगारीको अवसर खोज्दै नगर प्रहरीको प्रतिस्पर्धामा सहभागी भएकी छन् ।
सुष्मा मात्रै होइन, विराटनगर महानगरपालिकाले नगर प्रहरीका लागि आवेदन खुलाएपछि स्नातक तह उत्तीर्ण गरेका युवायुवतीको उपस्थिति उल्लेख्य देखिएको छ । आवेदन बुझाउन आउनेको भीडमा उच्चशिक्षा हासिल गरेका युवायुवतीसँगै वैदेशिक रोजगारीबाट फर्किएका र सुरक्षा निकायमा काम गरिसकेकाहरू पनि छन् ।
विराटनगर-१ का ३२ वर्षीय श्याम ढुङ्गेल पनि त्यही भीडमा भेटिए । वैदेशिक रोजगारीबाट फर्किएपछि अहिले घरमै बसिरहेका उनी महानगरपालिकाले नगर प्रहरीका लागि आवेदन खुलाएको थाहा पाएपछि फाराम भर्न आएका हुन् ।
“घरमा त्यसै बस्नुभन्दा केही काम गर्नुपर्छ भनेर आवेदन दिन आएको हुँ” उनले भने, “महानगरपालिकाले नगर प्रहरीका लागि भर्ना खुलाएको रहेछ, त्यसैले प्रयास गरौँ भनेर आएको हुँ ।”
महानगरपालिकाको प्रशासन शाखाका कर्मचारीका अनुसार आवेदन बुझाउनेमा विभिन्न तहको शैक्षिक योग्यता भएका छन् । तर स्नातक वा त्यसभन्दा माथिल्लो तह अध्ययन गरेका युवाको सङ्ख्या पनि उल्लेख्य छ । रोजगारीको सीमित अवसर र प्रतिस्पर्धात्मक श्रमबजारका कारण उच्चशिक्षा हासिल गरेका युवासमेत स्थानीय तहमा खुल्ने सेवा करारका पदतर्फ आकर्षित भएको देखिन्छ । विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार नगर प्रहरीको आवेदनमा सुरक्षा निकायमा काम गरिसकेका व्यक्तिहरूको पनि उल्लेख्य सहभागिता छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो दर्जाका कर्मचारीसमेत आवेदन दिन आएको उनले बताए ।
“प्रहरीमा पेन्सन पकाएर बसेकाहरू पनि आवेदन दिन आएको पाइएको छ” उनले भने, “कतिपयको दरबन्दी पहाडी तथा विकट जिल्लामा हुने रहेछ । पेन्सन पाकिसकेपछि घरपायक ठाउँमै काम गर्न पाए हुन्थ्यो भन्ने चाहना भएकाहरू पनि नगर प्रहरीमा आउनुभएको छ ।”
यसले नगर प्रहरीको रोजगारीप्रतिको आकर्षण केवल बेरोजगार युवामा मात्र सीमित नरहेको देखाउँछ । सुरक्षा निकायको अनुभव भएका र स्थानीय तहमा काम गर्न चाहनेहरू पनि प्रतिस्पर्धामा सहभागी भएका छन् ।
महानगरपालिकाका अनुसार अहिले नगर प्रहरीका लागि दैनिक ३० देखि ७० जनासम्म आवेदन बुझाउन आउने गरेका छन् । आवेदनको अन्तिम मिति असोज १९ गते तोकिएको छ । त्यसपछि उम्मेदवारको सङ्ख्या यकिन हुने र छनोट प्रक्रिया अघि बढाइने महानगरको प्रशासन महाशाखाले जनाएको छ ।
अघिल्लो पटक ४ सय २८ आवेदन
विराटनगर महानगरपालिकाले करिब डेढ वर्षअघि पनि नगर प्रहरीका लागि आवेदन मागेको थियो । त्यसबेला ४ सय २८ जनाले आवेदन दिएका थिए । तर आवश्यक बजेट तथा स्रोत सुनिश्चित नभएका कारण छनोट प्रक्रिया अघि बढ्न सकेन ।
महानगरका अनुसार त्यतिबेला आवेदन सङ्कलन भए पनि तत्कालीन परिस्थितिमा नगर प्रहरीका लागि आवश्यक बजेट सुनिश्चित हुन नसक्दा भर्ना प्रक्रिया रोकिएको थियो । अहिले आवश्यक स्रोत सुनिश्चित भएपछि पुनः भर्ना प्रक्रिया अघि बढाइएको विराटनगर महानगरपालिका नगर प्रमुख नागेश कोइरालाले बताए । अघिल्लो विज्ञापनमा आवेदन दिइसकेकाहरूले भने पुनः आवेदन दिनु नपर्ने व्यवस्था गरिएको छ ।
महानगर प्रमुख कोइरालाका अनुसार नगर प्रहरीको सङ्ख्या कम हुँदा महानगरका दैनिक कामकारबाही प्रभावित भइरहेका छन् । बजार अनुगमन, सडक व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, महानगरका निर्णय कार्यान्वयनलगायतका काममा नगर प्रहरीको भूमिका बढ्दै गए पनि जनशक्ति पर्याप्त छैन ।
“अहिले भएका नगर प्रहरी अत्यन्तै कम छन्” उनले भने, “कामको दायरा बढेको छ । त्यसैले आवश्यकताअनुसार नगर प्रहरी पदपूर्ति गर्न पुनः आवेदन खुलाएका हौँ ।”
३५ पदका लागि प्रतिस्पर्धा
महानगरपालिकाले खुला तथा समावेशी प्रतियोगिताबाट सेवा करारमा ३५ जना नगर प्रहरी जवान पदपूर्ति गर्न आवेदन मागेको हो । खुलातर्फ २० र समावेशीतर्फ १५ जना माग गरिएको छ ।
समावेशीतर्फ आदिवासी/जनजातिका लागि ६, महिलाका लागि ५ तथा दलित, थारू, मधेसी र मुस्लिम समुदायबाट एक-एक जना माग गरिएको छ ।
नगर प्रहरीमा आवेदन दिन मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको नेपाली नागरिक हुनुपर्नेछ । उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । नगर प्रहरी वा सुरक्षा निकायका बहालवाला तथा सेवानिवृत्त कर्मचारीका लागि भने ४५ वर्षसम्म आवेदन दिन सकिनेछ ।
आवेदन दस्तुर ३ सय रुपैयाँ तोकिएको छ । एकभन्दा बढी समावेशी समूहमा आवेदन दिने उम्मेदवारले प्रत्येक थप समूहका लागि १ सय रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।
छनोट प्रक्रियामा प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित परीक्षा र अन्तरवार्ता हुनेछन् । महानगरपालिकाले स्थायी बासिन्दालाई प्राथमिकता दिने जनाएको छ ।
प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार आवेदन सङ्कलनको समय सकिएपछि उम्मेदवारको सङ्ख्या यकिन गरी छनोटको कार्यतालिका सार्वजनिक गरिनेछ ।

































