कुनै समय पहाडी गाउँको समृद्धि मकैका थाङ्ग्रा, भरिभराउ अन्नका भकारी, गोठका गाईभै“सी र हराभरा खेतबारीले मापन गरिन्थ्यो । घरआँगनमा अग्ला मकैका थाङ्ग्रा हुनु परिवारको आर्थिक हैसियत र वर्षभरिको मिहिनेतको प्रमाण मानिन्थ्यो । भोजपुरको आमचोकस्थित वासिङथर्पुमा कुनै समय देखिने त्यही समृद्धिको दृश्य अहिले सम्झनामा सीमित भएको छ । डेढ सयभन्दा बढी घरपरिवारको चहलपहल रहेको बस्तीमा अहिले मुस्किलले ५०-६० घरमा मात्र बसोबास हुनु एउटा गाउँको मात्र कथा होइन; नेपालको पहाडी भूगोलले भोगिरहेको गम्भीर सामाजिक, आर्थिक र जनसाङ्ख्यिक सङ्कटको प्रतिनिधि चित्र हो ।

पहाडबाट तराई र सहरतर्फ भइरहेको तीव्र बसाइँसराइले गाउँको स्वरुप मात्र बदलेको छैन, परम्परागत कृषि प्रणाली, सामाजिक सम्बन्ध, सांस्कृतिक पहिचान र स्थानीय अर्थतन्त्रलाई समेत कमजोर बनाउँदै लगेको छ । कुनै समय मकै उत्पादन र पशुपालनमा आत्मनिर्भर रहेका गाउँहरु अहिले खाद्यान्नका लागि समेत वाह्य बजारमा निर्भर हुन थालेका छन् । खेतीयोग्य जमिन झाडीमा परिणत हुनु, घरहरु खण्डहर बन्नु र गाउँमा वृद्धवृद्धा मात्र बाँकी रहनु विकासको असन्तुलित स्वरुपको परिणाम हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बसोबास गर्नयोग्य चार लाख ७२ हजार ५ सय १६ घर खाली थिए । यो तथ्याङ्कले नै ग्रामीणक्षेत्रको जनसङ्ख्या पलायनको गम्भीरता देखाउँछ । पछिल्ला वर्षमा यो सङ्ख्या अझ बढेको अनुमान गर्न सकिन्छ । घर खाली हुनु भनेको केवल भौतिक संरचना प्रयोगविहीन हुनु होइन; त्यससँग जोडिएको श्रम, पुँजी, उत्पादन, सामाजिक सम्बन्ध र पुस्तौ“देखि सञ्चित ज्ञानसमेत निष्क्रिय हुनु हो । पहाडमा बनेका घर, बाटो, कुलो र खेतीयोग्य जमिनमा भएको लगानी उपयोगविहीन हुँदा राष्ट्रिय अर्थतन्त्रले समेत त्यसको मूल्य चुकाइरहेको छ ।

बसाइँसराइलाई केवल गाउँप्रतिको मोह घटेको वा युवापुस्तामा गाउँप्रतिको जिम्मेवारी कमजोर भएको दृष्टिले हेर्नु न्यायोचित हुँदैन । रोजगारीको अभाव, गुणस्तरीय शिक्षाको कमी, भरपर्दो स्वास्थ्य सेवा नहुनु, कृषि उत्पादनको उचित बजार नपाउनु र आधारभूत सुविधाका लागि समेत लामो दूरी तय गर्नुपर्ने बाध्यताले मानिसलाई गाउँ छाड्न विवश बनाएको हो । सडक, बिजुली र सञ्चार सुविधा पुग्दैमा गाउँ समृद्ध हुँदैन भन्ने यथार्थ वासिङथर्पुले देखाएको छ । सडकले गाउँलाई बजारसँग जोड्न सक्छ तर गाउँमै आम्दानी र अवसर सिर्जना गर्न सकेन भने त्यही सडक बसाइँसराइको सहज माध्यम पनि बन्न सक्छ ।

पहाडको कृषि प्रणालीलाई समयअनुकूल रुपान्तरण गर्न नसक्नु अर्को प्रमुख समस्या हो । परम्परागत मकै, कोदो र अन्य अन्नबाली उत्पादनमा श्रम धेरै लाग्ने तर आम्दानी न्यून हुने अवस्थाले युवालाई कृषितर्फ आकर्षित गर्न सकेको छैन । यसको समाधान खेती छाड्नु होइन, कृषिलाई व्यावसायिक, प्रविधिमैत्री र बजारमुखी बनाउनु हो । अलै“ची, किवी, ओखर, एभोकाडो, सुन्तला तथा जडीबुटीजस्ता उच्च मूल्यका कृषि उत्पादनलाई स्थानीय हावापानी र माटोअनुसार विस्तार गर्न सकिन्छ । तर उत्पादनको सम्भावना पहिचान गरेर मात्र पुग्दैन; सि“चाइ, प्राविधिक सहयोग, भण्डारण, ढुवानी, प्रशोधन र बजारको सुनिश्चितता पनि आवश्यक हुन्छ ।

पहाडका साना र छरिएका खेतीयोग्य जमिनलाई उत्पादनसँग जोड्न चक्लाबन्दी तथा करार खेतीका कार्यक्रम प्रभावकारी हुन सक्छन् । बाँझो जमिनको अभिलेखीकरण, वास्तविक जग्गाधनीको अधिकार संरक्षण र इच्छुक किसान वा कृषि उद्यमीलाई खेतीका लागि उपलब्ध गराउने व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ । जमिन बाँझो राखेकै आधारमा हतारमा सरकारीकरण गर्नेभन्दा स्वेच्छिक करार खेती, सहकारी खेती र उत्पादनमा आधारित प्रोत्साहनलाई प्राथमिकता दिनु उचित हुन्छ । कृषि उद्यममा फर्कन चाहने युवालाई सहुलियतपूर्ण ऋण, प्रविधि, बिमा र बजारको पहुँच उपलब्ध गराउन सके पहाडको जमिन पुनः उत्पादनशील बन्न सक्छ ।

यससँगै पहाडमा बसोबास गर्ने नागरिकले शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवाका लागि सहर धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । गाउँमै गुणस्तरीय विद्यालय, आधारभूत स्वास्थ्य सेवा, सुरक्षित खानेपानी र भरपर्दो सञ्चार सुविधा सुनिश्चित नगरी बसाइँसराइ रोक्ने अपेक्षा गर्नु अव्यावहारिक हुन्छ । पहाडको पुनर्जागरणका लागि स्थानीय सरकारको भूमिका निर्णायक हुन्छ । पालिकाहरुले आफ्नो क्षेत्रको जनसङ्ख्या, खाली घर, बाँझो जमिन, कृषि सम्भावना र उपलब्ध श्रमशक्तिको तथ्याङ्कमा आधारित दीर्घकालीन योजना बनाउनुपर्छ । कृषि पुनरूत्थान, रोजगारी सिर्जना, पूर्वाधार विकास र ग्रामीण अर्थतन्त्रको पुनर्संरचनासँग जोड्नुपर्छ । यो काम गर्ने साझा दायित्व राज्य, स्थानीय सरकार, निजी क्षेत्र र नयाँ पुस्ताको हो । गाउँमा मानिस बस्न सक्ने आर्थिक र सामाजिक आधार तयार गर्नु नै वास्तविक विकास हो । अन्यथा सडकले जोडिएका गाउँहरु पनि क्रमशः मानिसविहीन बस्तीमा परिणत हुनेछन् र हाम्रा पुर्खाले पसिना बगाएर उर्वर बनाएका खेतबारी इतिहासका तस्बिरमा मात्र सीमित हुनेछन् ।