भद्रपुर । तास र लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने ११ जनालाई झापामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर-१० का किरण लम्साल, मेचीनगर-५ दोकानडाँडाका विशाल लावती, मेचीनगर-१० का हर्कराज राई, मेचीनगर-७ का प्रकाश लावती, मेचीनगर-३ का सागर बस्नेत, मेचीनगर-१० का मेदनी बराल र मेचीनगर-५ का शेखरनाथ भण्डारी रहेका छन् ।
त्यसैगरी लङ्गुरबुर्जा खेलाउनेमा मेचीनगर-६ का चेतबहादुर लिम्बू र दीपक चौधरी, मेचीनगर-५ का सनम तामाङ तथा मेचीनगर-७ का जुगल भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दिएको विवरण अनुसार इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार मेचीनगर नगरपालिका-१० धुलाबारीस्थित ४५ वर्षीय जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरको पछाडि उत्तरपट्टि रहेको टिनको छानो भएको घरमा जुवातास खेल भइरहेको अवस्थामा छापा मारेको थियो ।
प्रहरीले उक्त घरमा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ८ बुङ तास र नगद १ लाख ८ हजार ५२० रुपैयाँ बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोस्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर-८ स्थित इटाभट्टा चोकबाट प्रहरीले लङ्गुरबुर्जा (डाइस) खेल्ने चार जनालाई पक्राउ गरेको थियो ।
लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा प्रहरीले सोमबार उनीहरूको साथबाट नेपाली रुपैयाँ १८ हजार ५०, भारतीय रुपैयाँ २०० र डाइस बरामद भएको जनाइएको छ ।
पक्राउ परेका ११ जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।यता झापाकै भद्रपुर ,चन्द्रगढी लगायतका क्षेत्रमा ताससहित होटलमा अनैतिक कार्य भइरहेपनि प्रहरीको ध्यान गएको छैन । हालसम्म यी क्षेत्रमा प्रहरीले छापा मारेको छैन ।

































