धनकुटा । आधुनिक प्रविधि र विद्युतबाट चल्ने उपकरणको प्रयोग बढ्दै गए पनि धनकुटाका केही ग्रामीण क्षेत्रमा परम्परागत सीप र प्रविधिको संरक्षण भइरहेको छ ।

महालक्ष्मी नगरपालिका–४ मा अझै पनि पानी र चुदारोको प्रयोग गरेर ठेकी बनाउने परम्परा कायम छ । महालक्ष्मी–४ का दीर्घबहादुर पौडेलले फुर्सदको समयमा परम्परागत विधिबाट ठेकी बनाउँदै आएका छन् । उनले वर्षमा करिब एक सयवटा ठेकी बनाउने गरेको बताए । खेतीपाती लगाउने र बाली भित्र्याउने समयबाहेकको फुर्सदमा ठेकी निर्माण गर्ने गरेको उनको भनाइ छ ।

पौडेलले सानोदेखि ठूलो आकारसम्मका ठेकी बनाउँदै आएका छन् । उनका अनुसार दुई कुरुवादेखि ३८ कुरुवासम्म अट्ने क्षमताका ठेकी बनाइन्छन् । ठेकीसँगै उनले तोङ्गा, खाने भाँडा र हर्पेसमेत बनाउने गरेका छन् । 

परम्परागत विधिबाट बनाइएको ठेकी प्रतिकुरुवा करिब ३०० रुपैयाँका दरले बिक्री हुने गरेको छ । दुई कुरुवा अट्ने सानो ठेकी ६०० रुपैयाँमा बिक्री हुन्छ भने ३८ कुरुवा अट्ने ठेकीको मूल्य करिब ११ हजार ४०० रुपैयाँसम्म पर्ने गरेको पौडेलले बताए । ठेकीलगायत सामग्री बिक्रीबाट वार्षिक करिब ६ लाख रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ ।

पौडेलका अनुसार विद्युतबाट चल्ने मेसिन प्रयोग गरेर बनाइने ठेकीको तुलनामा चुदारोको प्रयोगबाट बनाइने ठेकी प्रतिकुरुवा करिब १०० रुपैयाँ सस्तो पर्छ । सस्तो मूल्य र परम्परागत विशेषताका कारण यस्ता ठेकीको बजारमा मागसमेत राम्रो रहेको उनको भनाइ छ ।

ठेकी निर्माणको प्रक्रिया पनि परम्परागत प्रविधि र स्थानीय स्रोतमा आधारित छ । नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर उचाइबाट झारेर साँचो घुमाइन्छ । त्यसपछि साँचोमा काठ राखी पानीको शक्तिबाट घुम्ने चुदारोको सहायताले काँचो काठलाई विस्तारै आवश्यक आकारमा ढालिन्छ । लामो समयदेखि चलिआएको यो विधिमा कालिगढको सीप, अनुभव र कलात्मकता आवश्यक पर्छ ।

ठेकी बनाउन मुख्यतः दार र कटहरको काठ उपयुक्त मानिन्छ । स्थानीयवासीका अनुसार दार र कटहरको काठबाट बनाइएको ठेकीमा दूध जमाउँदा दही र मोही स्वादिलो हुने विश्वास छ । तर, पछिल्लो समय आवश्यक काठ र चुदारोको अभाव हुन थालेपछि यो परम्परागत सीप हराउँदै जाने चिन्ता बढेको छ ।

महालक्ष्मी–४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार गाउँमा विद्युत् पुगे पनि ठेकी निर्माणमा पुरानै विधिको प्रयोग भइरहेको छ । पानी र चुदारोको प्रयोगबाट ठेकी बनाउनुका साथै कुटानी–पिसानीका मिलसमेत सञ्चालनमा रहेको उनले बताए ।

उनका अनुसार केही समयअघि विद्युतबाट सञ्चालन हुने ठेकी बनाउने मेसिन गाउँमा ल्याइएको थियो । तर, त्यसको दीर्घकालीन सञ्चालन हुन सकेन । पानी र चुदारोको प्रयोगबाट उत्पादन गरिने सामग्री सस्तो हुनुका साथै वातावरणमैत्री र दिगो समेत हुने उनको भनाइ छ ।

परम्परागत रूपमा ठेकी निर्माण गर्ने सीपले स्थानीय रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुका साथै गाउँको सांस्कृतिक पहिचानसमेत जोगाउन सहयोग पुर्‍याएको छ । वडाध्यक्ष बूढाथोकीले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवद्र्धन गर्न स्थानीय तहले पहल गरिरहेको बताए । रासस