धरान । धरानवासीको तीव्र प्रतिक्षामा रहेको ‘धरान नगर अस्पताल’ निर्माण कार्यको कागजी प्रक्रियाहरू तीव्र गतिमा अगाडि बढिरहेको छ । 

धरान उपमहानगरपालिकाले तत्काल कायम रहेको भवनलाई नै प्रयोग गर्ने गरी काम अगाडि बढाएको हो । यसका लागि हाल कार्यविधि निर्माण, चिकित्सकहरूको मागलगायतका काम अगाडि बढिरहेको धरान उपमहानगरपालिकाले जनाएको छ । धरान नगर अस्पतालकै स्वामित्वमा रहेको जग्गा २०७४ सालसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद्ले २०७४ मङ्सिर ११ गते बीपीको नाममा स्वामित्व हस्तान्तरण गरेको थियो । नगर अस्पतालबारे चासो  राख्दै आएका हरि कार्कीले भने, “मन्त्रिपरिषद्ले २०७४ मङ्सिर ११ गते बीपीको नाममा गएको रहेछ ।”

यही जग्गा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को मन्त्रिपरिषद्ले २०८३ वैशाख २१ गते निर्णय गर्दै धरान नगर अस्पतालको स्वामित्वमा आएको छ । स्वामित्वमा आएसँगै नगर अस्पतालका लागि धरान उपमहानगरपालिकाले अस्पताल सञ्चालन गर्ने गरी कार्यविधि निर्माण गरेको छ । धरानमा अस्पतालको रूपमा वि.सं. १९९२ मा जुद्ध शमशेरको पालामा अगाडि बढाइएको थियो । तत्कालीन समयमा धरानमा डाक्टर नभएपछि धरान विस्तारकको भूमिकामा रहेका सुब्बा रत्नप्रसाद श्रेष्ठले भारतको कोलकताबाट द्वारिकाप्रसादलाई ल्याएका थिए । निजी रूपमा सेवा दिने गरी उनलाई ल्याइएको उनका नाति कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।

तत्कालीन समयमा धरान मोरङ जिल्लाअन्तर्गत रहेको थियो । धरान २०१७ सालमा नगर पञ्चायत घोषित भएको थियो । २०१८ सालमा ७५ जिल्ला कायम गरेपश्चात् धरान सुनसरीमा रहेको छ । नगर अस्पताल बन्ने क्षेत्रमा एक बिघा चार कठ्ठा सवा १३ धुर जग्गा रहेको छ । कुनै समय झाडीमा परिणत भएको अस्पताल परिसर अहिले पनि उस्तै अवस्थामा छ । उक्त जग्गा स्थानीयवासीले अस्पताललाई सहयोग गरेका थिए । 

२०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भएपश्चात् नै यो जग्गाको खोजीनीति सुरु भएको थियो । नेकपा (एमाले) बाट निर्वाचित नगर प्रमुख तारा सुब्बाको मृत्युपश्चात् कार्यवाहकको भूमिकामा रहेकी मञ्जु भण्डारी सुवेदीका अनुसार क्षेत्रीय अस्पतालको सम्पत्ति तथा दायित्व हस्तान्तरणअनुसार जमिनको स्वामित्व पनि २०७४ सालमै बीपीमा हस्तान्तरण भएको रहेछ । उनले भनिन्, “आफू कार्यवाहक भएपश्चात् त्यो जमिनको अवस्था के रहेछ भनेर बुझ्दा २०७४ मै बीपीमा स्वामित्व हस्तान्तरण भइसकेको रहेछ । शेरबहादुर देउवा सरकारको पालामै हस्तान्तरण गरिएको रहेछ । त्यो बेला राजकुमार रौनियार उपकुलपति रहेका थिए ।”

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा फिर्ता ल्याउन पहल गरिएको उनी बताउँछिन् । “केही समयअगाडि मात्रै क्याबिनेटले नै निर्णय गरेको रहेछ । त्यो कुरा हामीलाई सुरुमा थाहै थिएन । २०७५ मा म कार्यवाहक भएपछि चाहिँ जग्गाको अवस्था के रहेछ भनेर सोधीखोजी गर्दा २०७४ मा बीपीमा हक हस्तान्तरण भएको रहेछ”-उनले फोनसम्पर्कमा भनिन् । 

स्थानीयले दान गरेको उक्त जग्गा २०२७ सालको नापीपश्चात् मात्रै धरान नगर अस्पतालको रूपमा स्रेस्ता कायम भएको देखिन्छ । उक्त अस्पताललाई २००७ सालपश्चात् मात्रै सरकारी अस्पतालको रूपमा घोषणा गरिएको थियो । धरानमा २०५० सालदेखि बीपी प्रतिष्ठान सञ्चालनमा आएपश्चात् भने नगर अस्पतालका सेवा तथा कर्मचारीहरू पनि प्रतिष्ठानमा हस्तान्तरण भएको थियो भने जग्गाको स्वामित्व हस्तान्तरणमा केही समस्या रहेको थियो ।

विराटनगरका धनाढ्य जगन्नाथ डेढराजको परिवारले उक्त जग्गामा २०२६ सालमा माघ १८ गते दुई लाख ११ हजार रुपैयाँ दान गरी जगन्नाथ डेढराज मातृसेवा सदन (प्रसूति भवन) निर्माण गरिदिएका थिए । हाल उक्त भवन जीर्ण अवस्थामा रहेको छ । उक्त भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले २०२९ साल जेठ ७ गते गरेको त्यहाँ रहेको शिलालेखमा देखिन्छ । तत्कालीन समयमा राजारानीको उपस्थितिमै शिलान्यास गरेको देखिन्छ । 

हाल सो ठाउँमा धरान उपमहानगरपालिकाले मातृशिशु सेवा प्रदान गर्दै आइरहेको छ । नगर अस्पतालको स्वामित्वमा आएका कारणले पनि धरान उपमहानगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको छ । हाल धरान उपमहानगरपालिकाले कार्यविधि नै बनाइसकेको छ । धरान उपमहानगरपालिकाले १५ शøयाको ‘आधारभूत नगर अस्पताल सञ्चालन कार्यविधि २०८३’ निर्माण गरेको छ ।

“नगरले अस्पताल सञ्चालनमा ल्याउनका लागि कार्यविधि निर्माण गरिसकेको छ”-धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले भने । उनका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुईजना चिकित्सक माग पनि गरिसकेको अवस्था छ । कार्यविधिमा विभिन्न पदका कुल ३० जना स्वास्थ्य कर्मचारी रहने व्यवस्था गरिएको छ । जसमा मेडिकल जनरलिस्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याव टेक्सिनियन, रेडियोग्राफर, फार्मेसीसहायकलगायतको कर्मचारी रहने व्यवस्था गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राई (हाल सरुवा भएका) ले गत असोज ८ गते बीपी प्रतिष्ठानकी उपकुलपतिलाई दुई जना चिकित्सकको माग गर्दै पत्राचार गरेका थिए । 

उनले पत्रमा जनरल प्राक्टिसनर एकजना र मेडिकल अधिकृत एकजना गरी दुईजना चिकित्सक माग गरेको उल्लेख छ । स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने, “कार्यविधि निर्माण गरेपश्चात् चिकित्सकको मागसमेत भइसकेको छ ।” हाल नगर अस्पताल रहने क्षेत्रमा अपाङ्ग तथा पुनर्स्थापना केन्द्र रहेको छ । जहाँ अपाङ्ग तथा असहायहरू बस्दै आएका छन् । उनीहरूलाई व्यवस्थापन गर्नका लागि धरान उपमहानगरपालिकाले केही चरणमा छलफलसमेत गरिसकेको छ । “छलफल चलिरहेको छ । तयारीहरू पनि भइरहेका छन्” धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले फोनसम्पर्कमा भने, “चाँडै गरौँ भन्ने हो । तर जहाँ पनि विरोध र विवाद गरिदिने कारणले समस्या सिर्जना भइरहेको छ । तर पनि अन्तिम तयारीमा छौँ ।”

केन्द्रमा रहेका अपाङ्ग तथा असहायहरूलाई धरान-१४ स्थित बालगोपाल मन्दिरमा रहेको भवनमा सार्ने गरी तयारी भइरहेको र सोहीअनुसार प्रक्रिया पनि अगाडि बढिसकेको उनले जानकारी दिए । केन्द्रका अपाङ्ग तथा असहायहरू पनि सर्ने पूर्ण तयारीमा रहेका छन् । त्यहाँ बन्ने नगर अस्पतालमा चाहिने स्वास्थ्यकर्मी व्यवस्थापनका लागि पनि कार्यविधि निर्माण भइसकेको छ । त्यसका लागि नगरले ‘स्वास्थ्य महाशाखाअन्तर्गत कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको आन्तरिक सरुवा तथा कामकाजसम्बन्धी कार्यविधि २०८३’ निर्माण गरिएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने, “हामीले कर्मचारीको हकमा पनि कार्यविधि बनाइसकेका छौँ । खालि प्राविधिक कुराहरू मिलेमा सबै काम अगाडि बढिहाल्छ ।” धरान नगर अस्पताल बनेमा स्वास्थ्य बिमा सेवा लिनेका लागि प्रथम सेवा बिन्दुको रूपमा रहनेछ । धरानमा नगर अस्पतालको माग पनि प्रथम सेवा बिन्दुको सेवा बीपी प्रतिष्ठानबाट नपाउने भएका कारणले आन्दोलन सुरु भएको थियो । सोही आन्दोलनका कारण नै बालेन्द्र सरकारले गत वैशाखमा नगरलाई अस्पतालको स्वामित्वमा रहने गरी जग्गा हस्तान्तरण गरेको छ ।

धरान नगर अस्पताल बनेमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाप घट्ने विश्वास गरिन्छ । हाल बीपीको ओपिडी र आकस्मिक कक्षमा चार हजारभन्दा बढी बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन् । नगर अस्पताल बनेमा बीपी प्रतिष्ठान धाउनुपर्ने बाध्यता हट्ने धरानवासी बताउँछन् ।