काठमाडौँ । गरिबी, अशिक्षा र सामाजिक विभेदका कारण विपन्न परिवारका किशोरीहरू अझै पनि बालविवाहको जोखिममा छन् ।
विश्वभर करिब ६५ करोड महिला तथा किशोरीको बाल्यावस्थामै विवाह भएको तथ्यले बालविवाह अन्त्यका लागि प्रभावकारी पहल आवश्यक रहेको संकेत गरेको छ । ‘बालविवाह अन्त्य गरौँ र बालिकाको अधिकारमा लगानी गरौँ’ भन्ने नारासहित आज संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहेको छ । राष्ट्रसङ्घको नारा नेपालजस्ता अल्पविकसित मुलुकका लागि सान्दर्भिक मानिएको छ । संघले हरेक वर्ष अक्टोबर ११ तारिखमा मनाइने दिवसमा बालिकाको अधिकार संरक्षण, सशक्तीकरण तथा बालविवाह अन्त्यको सन्देश प्रवाह गरेको छ । तर, बालिकालाई भविष्यको निर्णय आफैँ गर्न सक्ने वातावरण निर्माण गर्नु चुनौतीपूर्ण देखिएको छ । नेपालको संविधानको धारा ३९ मा बालबालिकालाई बालविवाह गर्न बाध्य पार्न नहुने व्यवस्था रहेको छ भने मुलुकी अपराधसंहिता, २०७४ को दफा १७३ मा २० वर्ष नपुगी गरिने विवाहलाई दण्डनीय मानेको छ ।
विश्वव्यापी रूपमा १८ वर्ष उमेर नपुग्दै विवाह गर्ने बालिकाको अवस्था अझै चुनौतीपूर्ण छ । उपलब्ध अन्तर्राष्ट्रिय अनुमानअनुसार हाल जीवित महिला तथा बालिकामध्ये करिब ६५ करोडले बाल्यावस्थामा विवाह गरेका छन् । विश्वमा प्रत्येक पाँचमध्ये एक बालिका १८ वर्ष नपुग्दै विवाहको बन्धनमा पर्ने गरेको तथ्याङ्क छ ।
नेपाल बहुसूचक सर्वेक्षण (एनएमआइसिएस) सन् २०१४, सन् २०१९ र सन् २०२४–२५ का तथ्याङ्कको विश्लेषणमा आधारित प्रतिवेदनले बालविवाह न्यूनीकरणमा भएको प्रगतिसँगै यसलाई पूर्ण रूपमा अन्त्य गर्न थप लक्षित प्रयासको आवश्यकता औँल्याएको छ ।
नेपालमा पछिल्लो एक दशकमा बालविवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै बढी जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को एक प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा युनिसेफले सार्वजनिक गरेको ‘नेपालमा बालविवाह अन्त्यका लागि एक दशकको तथ्याङ्क र एक आह्वान’ नामक नयाँ पैरवी प्रतिवेदनअनुसार १८ वर्ष नपुग्दै विवाह भएका महिलाको अनुपात सन् २००४ मा ३७ प्रतिशत रहेकामा सन् २०२४–२५ मा घटेर २८ प्रतिशतमा झरेको छ । त्यस्तै, १५ वर्ष नपुग्दै विवाह भएका किशोरीको अनुपात १० प्रतिशतबाट घटेर पाँच प्रतिशतमा पुगेको छ ।
हरेक वर्ष अक्टोबर ११ मा मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदनले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने दिगो विकास लक्ष्य हासिल गर्न सरकार, विकास साझेदार, नागरिक समाज र समुदायको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरेको छ ।
यस वर्षको विश्वव्यापी नाराले बालविवाह अन्त्य गर्न र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढाउनुपर्नेमा जोड दिएको छ । प्रतिवेदनअनुसार नेपालमा बालविवाह घट्नुका साथै बालिकाको विद्यालयमा पहुँच बढेको र विवाह गर्ने औसत उमेरमा वृद्धि भएको छ । सन् २००१ मा पहिलो विवाहको औसत उमेर १७ वर्ष रहेकामा सन् २०२४–२५ मा बढेर २६ दशमलव ६ वर्ष पुगेको राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार बालविवाह न्यूनीकरणको प्रगति सबै सामाजिक तथा आर्थिक समूहमा समान रूपमा देखिएको छैन । प्रतिवेदनले गरिबीलाई बालविवाहको प्रमुख जोखिमका रूपमा औँल्याउँदै विपन्न परिवारका किशोरीमा तुलनात्मक रूपमा धनी परिवारका किशोरीको भन्दा १८ वर्षअघि विवाह हुने सम्भावना चार दशमलव ६ गुणा बढी रहेको जनाएको छ । पछिल्ला वर्षमा विपन्न परिवारमा बालविवाहको दरमा खासै सुधार नदेखिए पनि धनी परिवारमा भने उल्लेख्य सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले बालविवाह न्यूनीकरणमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको पनि औँल्याएको छ । माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा १८ वर्षअघि विवाह हुने जोखिम कम देखिए पनि बालविवाहको उच्च जोखिममा रहेका किशोरी नै गरिबी तथा अन्य समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य हुने सम्भावना बढी रहेको उल्लेख गरिएको परिषद्का कार्यक्रम अधिकृत चन्दले बताए ।
बालविवाहले बालिकाको शिक्षामा निरन्तरता, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता र आर्थिक आत्मनिर्भरतामा असर पार्ने गरेको छ । कम उमेरमा विवाह र गर्भधारणका कारण धेरै बालिका विद्यालय शिक्षा पूरा गर्नबाट वञ्चित हुने तथा भविष्यमा रोजगारी र नेतृत्वका अवसर प्राप्त गर्न कठिनाइ भोग्ने गरेका छन् ।
दिवसका अवसरमा बालिकाको शिक्षा र अधिकार संरक्षणसँगै उनीहरूलाई सामाजिक, राजनीतिक तथा जलवायु परिवर्तनसम्बन्धी छलफल र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिइएको छ । बालिकाको नेतृत्वमा सञ्चालित सञ्जाल, नागरिक समाजका सङ्घसंस्था र स्थानीय कार्यक्रमलाई प्रोत्साहन गर्नु पनि यस वर्षको प्राथमिकतामा रहेको छ ।
बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, परिवार तथा समुदायमा सचेतना, बालिकाको शिक्षामा लगानी र जोखिममा रहेका परिवारलाई सहयोग आवश्यक मानिएको छ । बालिकालाई सुरक्षित वातावरण, समान अवसर र आफ्नो जीवनबारे निर्णय गर्ने अधिकार उपलब्ध गराउनु बालविवाह न्यूनीकरणको महत्त्वपूर्ण आधार रहेको अधिकारकर्मीको भनाइ छ ।
यसैगरी, बाढिलगायत जलवायुजन्य विपद्ले बालिकाको शिक्षामा अवरोध पुर्याउनुका साथै परिवारको आयआर्जनमा असर पार्न सक्ने र जोखिममा रहेका परिवारको आर्थिक कठिनाइ बढाउन सक्ने प्रतिवेदनले जनाएको छ । यस्ता परिस्थितिले बालविवाह तथा बालबालिकामाथि हुने हिंसाको जोखिम बढाउन सक्ने भएकाले विपद्पछिको पुनःस्थापना र संरक्षणका कार्यक्रममा बालिकाको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने परिषद्का कार्यक्रम अधिकृत चन्दले बताए ।
प्रतिवेदनले बालविवाह अन्त्य गर्न अति विपन्न परिवारका बालिकालाई प्राथमिकतामा राखेर सहयोग गर्ने, किशोरावस्थासम्म विद्यालयमा टिकाइराख्ने, बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउने तथा बालविवाहलाई प्रोत्साहन गर्ने नकारात्मक सामाजिक सोच र व्यवहार परिवर्तनका कार्यक्रमलाई तीव्रता दिनुपर्ने सुझाव दिएको छ । तीनै तहको सरकार मिलेर नागरिक सङ्घसंस्थासँगको सहकार्यमा बालविवाह अन्त्यका लागि सरकारले थप पहल गर्नुपर्नेमा परिषद्का कार्यक्रम अधिकृत चन्दले जोड दिए ।
राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक तारक धितालले विवाह गर्ने विद्यमान उमेर घटाउँदा शैक्षिक, मानसिक, आर्थिक र सामाजिकका साथै प्रजनन् स्वास्थ्यमा प्रतिकूल असर पर्ने अध्ययनहरूबाट देखिएको बताए । उनले चीन, दक्षिण कोरिया, भारतलगायत मुलुकमा पनि २० वर्षपछि नै विवाहको कानुनी प्रबन्ध भएको बताए । अधिकारकर्मी धितालले नेपाल सरकारले ल्याएको बालविवाह अन्त्यसम्बन्धी रणनीति, २०७२ को प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार, निजी क्षेत्र र सञ्चारकर्मीले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले ‘विहेवारी २० वर्ष पारी अभियान’ लाई आफूले जोड दिँदै आएको बताए । उनले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्ष ल्याउन कतिपय पक्षले दबाब दिए पनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुने बताए । उनले सङ्कटका समयमा बालविवाह, बालश्रम र बालबालिका बेचबिखनजस्ता जोखिम बढ्न सक्ने भन्दै त्यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए । उनले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन, मनोविमर्श र सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । [रासस





























