विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याएको छ ।

प्रयोगशाला परीक्षणको रिपोर्ट लिन बिरामी तथा सेवाग्राहीले भोग्दै आएको झन्झट कम गर्ने उद्देश्यले स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याइएको हो । प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको अत्याधुनिक मेसिनको सेवा सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो । प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले संयुक्त रूपमा मेसिनको सेवा शुभारम्भ गरे । प्रतिष्ठानले स्वास्थ्य सेवालाई प्रविधिमैत्री, सहज र प्रभावकारी बनाउने अभियानअन्तर्गत नयाँ प्रविधि प्रयोगमा ल्याएको जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार नयाँ प्रविधिले दैनिक अस्पताल आउने हजारौँ बिरामी तथा उनीहरूका आफन्तलाई रिपोर्ट प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

नयाँ मेसिनको प्रयोगबाट प्रयोगशाला परीक्षण गराएका बिरामीले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्नेछन् । यसका लागि बिरामीले परीक्षण गराउँदा प्राप्त गरेको बिलको ‘बारकोड’ (कुनै वस्तु वा कागजातको विवरण पहिचान गर्न प्रयोग गरिने कालो–सेतो धर्सा वा रेखाहरूको संकेत हो । यसलाई मेसिनले स्क्यान गरेर त्यसमा जोडिएको विवरण पहिचान गर्छ) मेसिनमा देखिने सेन्सर भागमा देखाउनुपर्नेछ । बारकोड स्क्यान हुनासाथ मेसिनले सम्बन्धित विवरण पहिचान गरी केही सेकेन्डमै ल्याब रिपोर्ट प्रिन्ट गरेर उपलब्ध गराउनेछ ।

यसअघि सेन्ट्रल ल्याबको रिपोर्ट काउन्टरबाट रिपोर्ट लिन बिरामी तथा उनीहरूका कुरुवाहरूले लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । बिरामीको चाप बढ्दै जाँदा रिपोर्ट संकलन तथा वितरणमा ढिलाइ हुने गरेको थियो । भीडभाडका कारण कर्मचारीलाई समेत रिपोर्ट खोज्न र वितरण गर्न कठिनाइ हुने गरेको प्रतिष्ठानले जनाएको छ । 

स्वचालित मेसिन सञ्चालनमा आएसँगै रिपोर्ट लिन लाग्ने समय घट्ने, काउन्टरमा हुने भीड कम हुने तथा रिपोर्ट वितरण प्रक्रियामा मानवीय त्रुटि घट्ने अपेक्षा गरिएको छ । बिरामी तथा कुरुवाको समय बचत हुनुका साथै अस्पतालको सेवा प्रवाह थप व्यवस्थित हुने विश्वास प्रतिष्ठानले लिएको छ ।

प्रतिष्ठानले विगतदेखि नै बिरामीको चाप व्यवस्थापन गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न प्रविधि तथा पूर्वाधारको विस्तार गर्दै आएको जनाएको छ । अस्पताललाई क्रमशः पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याइएको हो ।  

WhatsApp Image 2026-10-12 at 6.06.30 PM