धरान । कोशी लोकमार्गअन्तर्गत धरानको महेन्द्र पथमा हाल पक्की भवन निर्माण रोक्का रहे पनि धरान-१२ महेन्द्र पथमा घर निर्माण भइरहेको पाइएको छ । 

सार्वजनिक सडक ऐन २०३१ को दफा ३ अनुसार सडकको केन्द्र (बीच) भागबाट दुवैतिर ३१/३१ मिटर छाड्नुपर्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार धरानको बीच भागमा पर्ने महेन्द्र पथसहितमा हाल कति मिटरको सडक बनाउने भन्ने विषयमा विवाद भइरहेकाले पक्की भवन निर्माण रोक्का राखिएको अवस्था छ ।

“उक्त क्षेत्रमा घर निर्माण इजाजत दिनै मिल्दैन”-धरान उपमहानगरपालिकाका घरनक्सा शाखाका प्रमुख इन्जिनियर विनय श्रेष्ठले फोनसम्पर्कमा भने । महेन्द्र पथको सडक भारतको सीमावर्ती क्षेत्र जोगवनीदेखि चीनको सीमाक्षेत्र किमाथाङ्कासम्मको सडक अन्तर्गत पर्दछ । धरानको मुख्य प्रवेशद्वारा तीनकुनेसम्म सडक निर्माण भइसके पनि धरानमा सडक मापदण्ड कति छाड्ने भन्ने विवादका कारण काम अगाडि बढ्न सकेको छैन भने उक्त क्षेत्रमा धरान उपमहानगरपालिकाले सडक ऐनअनुसार मापदण्ड छाडेर अस्थायी प्रकृतिका भवनहरू निर्माणका लागि खुल्ला गरेको छ । 

तर, धरान-१२ स्थित शिव एन्ड ब्रदर्स कपडा पसल रहेको घरमा दाजुभाइ छुट्टिएपश्चात् माथिल्लोपट्टि अनुपकुमार अग्रवालले पक्की घर बनाइरहेको पाइएको हो । उनले धरान उपमहानगरपालिकालाई घर मर्मतका लागि निवेदन दिएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । “सुरुमा मर्मत गर्ने भनेर अनुमति लिइएको थियो, त्यो पनि एक तलाको लागि मात्रै लिनुभएको थियो । तर अहिले त दुई तला पक्की नै बनाउनु भएछ” श्रेष्ठले फोनसम्पर्कमा भने, “त्यसपश्चात् तत्काल निर्माण कार्य रोक्का राख्नु भनेर भनिएको छ ।” 

धरान उपमहानगरपालिकाले घर निर्माण रोक्का राख्न पत्राचार गरे पनि ब्लाष्टकर्मी मङ्गलबार उक्त क्षेत्रमा पुग्दा भित्रपट्टि निर्माण भइरहेको पाएको थियो । शिव एन्ड ब्रदर्सका अर्का सञ्चालक मनोहर अग्रवालले भने, “खै, धरान उपमहानगरपालिकाले निर्माण रोक्का गर्नू भने पनि काम चलिरहेकै छ ।” उनले उक्त कार्य रोक्का राख्नु भन्दै धरान उपमहानगरपालिकामा २०८३ साउन ११ गते नै निवेदन दिएका थिए ।

उनले निवेदनमा लेखेका छन्, “धरान-१२ महेन्द्र पथस्थित शिव एन्ड ब्रदर्श कपडा पसलको उत्तर सिमानामा अनुपकुमार अग्रवालको नाममा दर्ता रहेको जग्गा घर नम्बर ७२ मा साविक काठको घर भएकोमा हाल निजले सडकको मापदण्ड नराखी आफूखुसी आरसिसी पिल्लरसमेत राखी भवन बनाउँदै गरेको हुँदा उक्त भवन नक्सा पास नगरी मापदण्ड विपरीत बनाएको हुँदा हामी छिमेकीलाईसमेत असर परेको हुँदा उक्त भवन निर्माण कार्य तत्कालै रोक्का राखी पाउन यो निवेदन पेश गरेको छु ।”

उक्त निवेदन उपर धरान उपमहानगरपालिकाले यही असोज २२ गते मात्रै निर्माण कार्य रोक्का गर्नका लागि अनुपकुमार अग्रवाललाई पत्राचार गर्दै तीन दिनभित्र के भएको हो स्पष्टीकरण दिनसमेत भनिएको थियो । उक्त पत्रमा लेखिएको थियो, “२०८३ साउन ११ मा निर्माण कार्य रोक्का लागि निवेदन पेश गर्नुभएकोमा यस कार्यालयबाट खटिएको प्राविधिक टोलीद्वारा मिति २०८३ साउन १५ मा गरिएको स्थलगत निरीक्षण प्रतिवेदन अनुसार निर्माण कार्य भइरहेको देखिएकाले अर्को आदेश नभएसम्मका लागि भवन निर्माण कार्य रोक्का राखी आवश्यक कागजात (नक्सा पास तथा स्वीकृति विवरण) सहित तीन दिनभित्र यस कार्यालयमा उपस्थित हुन जानकारी गराइन्छ ।”

उक्त पत्राचारअनुसार अनुपकुमार अग्रवाल सोमबार (असोज २६) गते मात्रै धरान उपमहानगरपालिकामा गएका थिए । अनुपले ब्लाष्टकर्मीलाई भने, “घरनक्सा विभागलाई भेटेर आएको छु । मैले मापदण्ड र नक्सा पास गरेरै बनाएको छु । एक सय २ फिट छाडेरै बनाएको छु मैले ।” रोक्का कागज के आधारमा दियो त भन्ने जिज्ञासामा उनले भने, “त्यो के आधारमा पत्र आयो मलाई थाहा भएन ।”

यता इन्जिनियर श्रेष्ठले ‘गर्न नहुने काम नै गरेको, गल्ती नै गरेको’ बताए । उनले भने, “हामीसँग मर्मतका लागि भनियो । तर अहिले माथि ढलाइ नै गरेर दुई तला गरेको रहेछ । गर्न नहुने काम नै गरेको हो । गल्ती नै गरेको छ । उसले फटाइँ नै गरेको छ । हामीले त्यो क्षेत्रमा घर बनाउनका लागि इजाजत नै दिन मिल्दैन ।”

यता अनुपकुमार अग्रवालले मनोहर अग्रवालले आफ्नो बुबालाई पनि पहिला दुःख दिएको र लामो समय मुद्दा चलेर अलग अलग भएको बताए । “दुःख दिने मेलो गरेको हो । पहिला पनि बुबालाई दुःख दिनुभएको हो । २५-३० वर्ष मुद्दा चलेको हो । उहाँलाई चित्त नबुझेको होला”-उनले फोनसम्पर्कमा भने । यता मनोहरलाल अग्रवालले छिमेकीले घर बनाउँदा कपडा पसलतर्फ पानीलगायत कुराहरू आई कपडा बिग्रिएको बताए ।

“सिमेन्टको काम गर्दा मेरोपट्टि धेरै कपडाहरू क्षति भयो” उनले भने, “छिमेकीलाई जानकारी त दिनु पर्छ नि ।” उनले सरकारले तोकेको मापदण्डअनुसार घर पनि नबनाएको बताए । “३५ फिट मात्रै छोडेर घर बनाएको छ, मैले रोक्काका लागि निवेदन नै दिएको थिएँ । धेरै पछि मात्रै नगरले कारबाहीस्वरूप रोक्काको पत्र पठाएको छ तर पनि काम चलिरहेको छ”-उनले भने ।

उनले भनेको कुरा ब्लाष्टकर्मीले जाँच गर्दा पनि पुष्टि भएको छ । धरान उपमहानगरपालिकाले रोक्का गर्न निर्देशन दिए पनि भित्रभित्रै काम भने चलिरहेको छ ।