धरान । धरान उपमहानगरपालिका र मानव सेवा आश्रमको सहकार्यमा धरानका सडकमा आश्रित तथा मागेर बस्ने सडक मानवहरूको उद्धार अभियान सुरु गरिएको छ ।

मङ्गलबार भानुचोक, देशीलाइनलगायत विभिन्न चोक, सडक तथा गल्लीबाट करिब ३० जनाको उद्धार गरी धरान-१६ स्थित मानव सेवा आश्रममा व्यवस्थापन गरिएको छ । धरान उपमहानगरपालिकाले सडक मानवमुक्त धरान बनाउने अभियानअन्तर्गत सडकमा रहेका मानिसको पहिचान, उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ ।

उद्धार गरिएकाहरूलाई सम्मानस्वरूप माला लगाएर आश्रममा पठाइएको थियो । उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले सडकमा रहेका मानिसको उद्धार गर्दै आगामी कात्तिक १८ गतेसम्म धरानलाई सडक मानवमुक्त बनाउने योजना रहेको बताए ।

परिवार भएका व्यक्तिलाई पहिचान गरी परिवारको जिम्मा लगाउने र परिवार नभएका, असहाय तथा शारीरिक रूपमा कमजोर व्यक्तिलाई आश्रममा खानपान, सरसफाइ र आवश्यक उपचारको व्यवस्था गरिने उनले बताए । मानव सेवा आश्रमले सडकबाट उद्धार गरिएका व्यक्तिहरूको पहिचान तथा पारिवारिक खोजतलास गरी परिवारसँग पुनर्मिलन र पुनःस्थापनामा सहजीकरण गर्नेछ ।