धरान । दसैँको मुखमा किनमेलका लागि पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैङ्कको धरान शाखा पुगेका सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने सास्ती भएको गुनासो गरेका छन् । बैङ्कमा सेवाग्राहीको चाप बढे पनि पर्याप्त काउन्टर र प्रभावकारी एटीएम सेवासमेत नहुँदा सर्वसाधारणले आफ्नै पैसा निकाल्नसमेत कठिनाइ भोग्नुपरेको उनीहरूको गुनासो छ ।
धरान-१५ का सुरज भट्टराईले पाँच हजार रुपैयाँको चेक साट्न छ घण्टा कुर्नुपरेको बताए । बैङ्कमा छ सयसम्म टोकन वितरण हुँदा आफूले ५ सय ७४ नम्बरको टोकन लिएको उनले सुनाए । “दसैँको किनमेल गर्न पैसा निकाल्न आएको, दिनभरि बैङ्कमै कुरेर बस्नुपर्यो”-उनले भने ।
दसैँका लागि किनमेल गर्नुपर्ने समयमा बैङ्कमै घण्टौँ बिताउनुपर्दा सेवाग्राही समस्यामा परेका छन् । बैङ्कले पर्याप्त काउन्टरको व्यवस्था नगर्दा सामान्य कारोबारका लागि पनि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । बैङ्कको एटीएम सेवा पनि प्रभावकारी नहुँदा समस्या थपिएको छ । “कहिले एटीएममा पैसा हुँदैन, कहिले मेसिन बिग्रिएको छ भन्छन् । कामै हुँदैन”-एक सेवाग्राहीले गुनासो गरे ।
केही महिनायता बैङ्कमा सेवाग्राहीको चाप बढ्दै गएको छ । बैङ्कभित्रै एक खाताबाट अर्को खातामा चेकमार्फत् रकम जम्मा गर्नसमेत घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको सेवाग्राहीको भनाइ छ । विगतमा चेक कलेक्सनका लागि छुट्टै काउन्टर हुँदा छिटो सेवा पाउने गरेकामा अहिले पैसा झिक्ने, जम्मा गर्ने र चेक कलेक्सनको काम एउटै काउन्टरबाट हुन थालेपछि भीड बढेको उनीहरूको गुनासो छ ।
बैङ्कका शाखा व्यवस्थापक विष्णुकुमार निरौलाले दसैँको मुखमा एकैपटक सेवाग्राहीको चाप बढेकाले व्यवस्थापनमा कठिनाइ भएको बताए । उनका अनुसार धरान उपमहानगरपालिकाले लामो समयदेखि भुक्तानी दिन बाँकी रकम बिहीबारदेखि मात्र उपलब्ध गराएपछि भुक्तानी लिनेको चाप बढेको हो । सामाजिक सुरक्षा भत्ता पाउने एक हजार २ सय ७२ जनाको रकम पनि उपमहानगरपालिकाले हालै निकासा गरेको उनले जानकारी दिए ।
सरकारी कर्मचारीको पेन्सन, विद्यालयका संस्थागत खाता तथा अन्य सरकारी कारोबारका कारण पनि शाखामा सेवाग्राहीको चाप बढेको व्यवस्थापक निरौलाले बताए । तर, सीमित जनशक्ति र काउन्टरका कारण सबै सेवाग्राहीलाई छिटो सेवा दिन कठिनाइ भइरहेको उनको भनाइ छ । बैङ्कका अनुसार धरान शाखामा १३ जना कर्मचारी कार्यरत छन् भने सेवाग्राहीका लागि चारवटा मात्र काउन्टर सञ्चालनमा छन् ।
नियमित बैङ्किङ सेवाबाहेक ऋण असुली तथा प्रशासनिक काममा समेत कर्मचारी खटाउनुपर्ने भएकाले जनशक्ति अभाव रहेको निरौलाले बताए । महालेखापरीक्षकको कार्यालयले चेक कारोबार पनि एउटै काउन्टरबाट गर्न निर्देशन दिएको उल्लेख गर्दै उनले छुट्टै चेक कलेक्सन काउन्टर सञ्चालन गर्न नसकिएको बताए ।
दसैँअघि आज (शुक्रबार) सम्म मात्र बैङ्किङ कारोबार हुने भएकाले सेवाग्राहीको चाप झन् बढेको छ । चाडपर्वको खर्च जुटाउन बैङ्क पुगेका कतिपय सेवाग्राहीले रकम निकाल्न नपाएको गुनासो गरेका छन् । बैङ्कभित्र लामो लाइन र बाहिर एटीएमको अनिश्चितताले सेवाग्राहीलाई थप सास्ती दिएको छ । चाडपर्वमा सर्वसाधारणलाई नगदको आवश्यकता बढी हुने समयमा बैङ्किङ सेवा सहज बनाउनुपर्ने भए पनि राष्ट्रिय वाणिज्य बैङ्कको धरान शाखामा पर्याप्त काउन्टर, जनशक्ति र भरपर्दो एटीएम सेवाको अभाव देखिएको छ । सेवाग्राहीले आफ्नै रकम निकाल्न घण्टौँ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न बैङ्क व्यवस्थापनले तत्काल सेवा प्रवाह सुधार गर्न सेवाग्राहीहरूले सुझाएका छन् ।

































