वराहक्षेत्र । धनकुटाको त्रिवेणीस्थित सप्तकोशी नदीमा आइतबार भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाएका दुई जनाका परिवारलाई डुङ्गा सञ्चालक कम्पनीले काजकिरिया खर्च उपलब्ध गराएको छ ।
पीडित परिवार र डुङ्गा सञ्चालकबीच मङ्गलबार लिखित सम्झौता भएपछि कम्पनीका तर्फबाट चुनु श्रेष्ठले मृतकका हकवालालाई जनही ५० हजार रुपैयाँ हस्तान्तरण गरे । दुर्घटनामा ज्यान गुमाएका रत्नबहादुर सार्कीकी पत्नी पार्वती सार्की र लीला राईका छोरा समीर राईले किरिया खर्चबापतको रकम बुझेका हुन् ।
वराहक्षेत्र नगरपालिका-१ को कार्यालयमा भएको वार्तामा मृतकका परिवार, डुङ्गा सञ्चालक कम्पनीका प्रतिनिधि, नगरप्रमुख रमेश कार्की, वडा नं. १ का अध्यक्ष किशन थापामगर, वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम र वडा नं. ७ का अध्यक्ष कपिल आचार्य सहभागी थिए ।
पीडित परिवारका अनुसार डुङ्गा सञ्चालक कम्पनीले मृतक दुवैका परिवारलाई क्षतिपूर्तिबापत जनही पाँच लाख रुपैयाँ उपलब्ध गराउने मौखिक सहमतिसमेत गरेको छ । दुर्घटनापछि तीन दिनदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका दुवै जनाको शव बुधबार परिवारले बुझेका थिए । रत्नबहादुरको धरान-१५ स्थित अनुग्रह चर्चको दाहसंस्कारस्थलमा अन्त्येष्टि गरिएको उनका भाइ विदुरले जानकारी दिए । लीला राईको भने चतरामा अन्त्येष्टि गरिएको बताइएको छ ।
तीन जना अझै बेपत्ता
धनकुटाको त्रिवेणीस्थित सप्तकोशी नदीमा आइतबार भएको डुङ्गा दुर्घटनामा वराहक्षेत्र नगरपालिकाका तीन महिला र दुई बालबालिका गरी पाँचजना परेका थिए । तीमध्ये दुई जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् ।
बेपत्ताको खोजी भइरहेको धनकुटा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वराहक्षेत्र नगरपालिका-१ की ५२ वर्षीया लीला राई र सात वर्षीया आर्या राई रहेका छन् । बेपत्ता हुनेमा आर्याकी २२ वर्षीया आमा मुनु राई, २१ वर्षीया प्रमिला मगर र बालचन खोरियास्थित मामाघर आएका सात वर्षीय शिवन मगर रहेका छन् ।

































