धरान । फोहोरमैला व्यवस्थापनको दिगो विकल्प खोज्न माग गर्दै वातावरण तथा पर्यटन विकास केन्द्रका पदाधिकारीले बिहीबार धरानको भानुचोकमा एक घण्टा साङ्केतिक धर्ना दिएका छन् । चारकोसे झाडीस्थित सेउती पुलमाथिको वन क्षेत्रमा फालिएको फोहोर जलाउँदा निस्कने धुवाँले वायु प्रदूषण बढाएको र जनस्वास्थ्यमा असर पर्ने जोखिम बढेको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

धरान उपमहानगरपालिकाले लामो समयदेखि धरान-१५ स्थित बाँझगरा सामुदायिक वन क्षेत्रनजिक सेउती खोला किनारमा फोहोर फाल्दै आएको छ । फोहोरबाट पुनः प्रयोग गर्न मिल्ने प्लास्टिक तथा धातुजन्य सामग्री निकाल्न आगो लगाउँदा निस्कने धुवाँले जङ्गलसँगै धरान-इटहरी सडक खण्डको वातावरणसमेत प्रदूषित बनाउँदै आएको वातावरणकर्मीको भनाइ छ ।

वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठका अनुसार वनक्षेत्रजस्तो प्राकृतिक सम्पदामा फोहोर फाल्ने र जलाउने कार्यले वायु प्रदूषण बढाउनुका साथै वन्यजन्तुको बासस्थान, जैविक विविधता र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने जोखिम छ । फोहोर व्यवस्थापनको उचित विकल्प खोज्नुको सट्टा वन क्षेत्रलाई डम्पिङ साइटका रूपमा प्रयोग गरिरहनु दीर्घकालीन समाधान नभएको उनले बताए ।

तीन दशकदेखि उस्तै समस्या
धरानमा फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल साइट नहुँदा सेउती खोला किनारको वनक्षेत्र लामो समयदेखि प्रयोग हुँदै आएको छ । उक्त क्षेत्रमा करिब तीन दशकदेखि फोहोर विसर्जन गरिँदै आएको थियो । फोहोर व्यवस्थापनको स्थायी विकल्प खोज्ने विषयमा उपमहानगरपालिका र वन निकायबीच पटकपटक विवादसमेत हुँदै आएको छ । यस विषयमा पटक पटक वैकल्पिक व्यवस्थापन गर्न सरोकारवालाहरूले आवाज उठाए पनि धरान उपमहानगरपालिकाले चासो दिएको छैन ।

फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यले धरान-६ मा २०७८ सालदेखि फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको थियो । तर, उक्त केन्द्र करिब तीन वर्षपछि बन्द भयो । प्रशोधन केन्द्र बन्द भएपछि नगरबाट सङ्कलित फोहोर पुनः सेउती खोला किनारको जङ्गलमा फाल्न थालिएको छ । धरान उमपहानगरका तत्कालीन प्रमुखकै कारण बन्द गर्नुपरेको फोहोर प्रशोधन केन्द्र सञ्चालक कम्पनीले दाबी गरेको छ ।

प्रशोधन केन्द्र सञ्चालनमा रहँदा पनि सबै प्रकारका फोहोरको व्यवस्थापन हुन सकेको थिएन । कुहिने फोहोर प्रशोधन गर्ने व्यवस्था भए पनि प्लास्टिकलगायत नकुहिने फोहोरको दिगो व्यवस्थापन चुनौतीका रूपमा रहँदै आएको छ । अहिले त्यही समस्याका कारण वन क्षेत्रमा फोहोर थुपार्ने र जलाउने क्रम नरोकिएको हो । सामुदायिक वन उपभोक्ता समूहले बारम्बार वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरे पनि उपमहानगर सफल भएको छैन ।

फोहोर जलाउँदा निस्कने बाक्लो धुवाँले धरान-इटहरी सडक खण्ड ढाक्ने गरेको र सवारी चालक तथा यात्रुलाई समस्या हुने गरेको आवाज पटक-पटक उठाएको वन समूहले जनाएको छ । धुवाँका कारण सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको सवारी चालकहरूले बताएका छन् ।

ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएको गुनासो
वातावरण तथा पर्यटन विकास केन्द्रले फोहोर व्यवस्थापनको समस्या समाधान गर्न यसअघि पनि विभिन्न समयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । पूर्वनगर प्रमुख तिलक राईको कार्यकालदेखि नै ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि आग्रह गरे पनि अपेक्षित सुधार नभएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताए ।

फोहोर व्यवस्थापनको जिम्मेवारी बोकेको उपमहानगरपालिका र वनक्षेत्रको संरक्षणमा खटिने निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा समस्या लम्बिँदै गएको केन्द्रको भनाइ छ । नजिकै वन डिभिजन कार्यालय रहे पनि वन क्षेत्रमा फोहोर फाल्ने तथा जलाउने कार्य नियन्त्रण हुन नसकेको भन्दै केन्द्रले असन्तुष्टि जनाएको छ ।

केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठको नेतृत्वमा विहीबार धरानको भानुचोकमा धर्ना बसेका थिए । धर्नामार्फत् वन क्षेत्रमा फोहोर फाल्ने र जलाउने कार्य नियन्त्रण गर्न, वायु प्रदूषण रोक्न तथा फोहोर व्यवस्थापनको दिगो विकल्प खोज्न माग गरिएको थियो ।

फोहोर व्यवस्थापनको समस्या समाधान गर्न अस्थायी रूपमा फोहोर थुपार्ने वा जलाउने अभ्यासभन्दा वैज्ञानिक प्रशोधन, पुनः प्रयोगयोग्य सामग्रीको वर्गीकरण र बाँकी फोहोरको सुरक्षित विसर्जनमा जोड दिनुपर्ने वातावरण विज्ञहरूले सुझाएका छन् । वन क्षेत्रको संरक्षण र सहरी जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस समस्याको समाधानका लागि उपमहानगरपालिका, वन कार्यालय र स्थानीय समुदायबीच समन्वय आवश्यक भएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताए ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले स्थानीयस्तरबाट ठूलो बजेट विनियोजन गर्न नसकिएका कारण वैकल्पिक ऊर्जा र फोहोर व्यवस्थापनको क्षेत्रमा समस्या देखिएको बताउँदै आएका छन् । धरानमा सौर्य ऊर्जा र फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्रचुर सम्भावना भए पनि नीतिगत अस्पष्टता र लगानीको अभावका कारण समस्या देखिएको बताइएको छ ।

वार्षिक आम्दानीको एक प्रतिशत नगरपालिकालाई प्रदान गर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई नै उक्त फोहोर प्रशोधन केन्द्र हस्तान्तरण गर्ने सम्झौतासहित २०७८ सालमा ‘भेन्चर वेस्ट टु इनर्जी’ प्रा.लि.को लगानीमा फोहोर प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

दैनिक दुई हजार केजी ग्यास र जैविक मल उत्पादन गर्ने तथा उत्पादित ग्यासबाट धरानका चार सयभन्दा बढी टेम्पो सञ्चालन गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको उक्त केन्द्र अहिले पूर्णरूपमा बन्द भएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन साथै फोहोरमैला व्यवस्थापनमा समस्या भएको छ ।

धरानको अव्यवस्थित फोहोरको असर छिमेकी स्थानीय तहसम्म समेत पुगेको छ । फोहरबाट निस्कने तीव्र दुर्गन्ध र प्लास्टिकजन्य फोहोर जलाउँदा निक्लने विषाक्त धुवाँ हावाको माध्यमबाट इटहरी उपमहानगरपालिकाको तरहरा क्षेत्रसम्म पुग्ने गरेको छ । वर्षायाममा बाढीले फोहोरको थुप्रो बगाएर तल्लो तटीय क्षेत्रका किसानहरूको खेतीयोग्य जमिनमा पुर्‍याउँदा बालीनाली नष्ट हुनुका साथै माटोको उर्वराशक्तिसमेत कमजोर बन्ने खतरा बढेको छ । स्थानीय बक्लौरीबासी पटक पटक धरान उपमहानगरमा गुनासो लिएर आउने पनि गरेका छन् ।

धरान उपमहानगरपालिकामा लामो समयदेखि बहस र चिन्ताको विषय बन्दै आएको फोहोर व्यवस्थापनको मुद्दा अहिले आएर वातावरणीय सङ्कट मात्र नभई वन संरक्षण र सार्वजनिक सुरक्षाका लागि समेत गम्भीर चुनौती बनेको धरान उपमहानगरपालिकाका पूर्व उपप्रमुख मन्जु भण्डारी बताउँछिन् ।

फोहोर विसर्जनस्थल र प्राकृतिक वन क्षेत्रको निकटताका कारण बहुआयामिक समस्याहरू निम्तिएको उनको भनाइ छ । फोहोरमैला व्यवस्थापनमा धरान उपमहानगरपालिका चुकेको छ । यसमा स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ । 
धरान नगरको प्रमुख चुनौतीको रूपमा रहेको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन उपमहानगरले नयाँ ‘डम्पिङ साइट’ र ‘ट्रिटमेन्ट साइट’ खोजी गरी ठोस कार्ययोजना अघि सार्नुपर्ने उनको भनाइ छ ।

धरान-६ मा निजी क्षेत्रको करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्र (बायोग्यास प्लान्ट) लाई नगरपालिकाले प्रोत्साहन र आवश्क सहयोग गर्न नसक्दा वैकल्पिक ऊर्जा प्रवर्द्धनमा ठूलो समस्या देखिएको भण्डारीले बताए । उक्त केन्द्र भण्डारी कार्यवाहक नगर प्रमुख भएको समयमा सम्झौता भएको थियो ।

परियोजनाका निर्माण कन्सल्टेन्ट इन्जिनियरका अनुसार सङ्घीय सरकारको छ करोड अनुदानसहित करिब २७ करोडको लागतमा करिब एक बिघा जमिनमा प्रशोधन केन्द्र निर्माण गरिएको थियो । उपमहानगरपालिकाले निजी कम्पनीसँगको साझेदारीमा फोहरबाट ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनाअन्तर्गत यसलाई सञ्चालनमा ल्याएको भए पनि स्थानीय र सङ्घीय सरकारले आवश्यक चासो र आवश्यक सहयोग गर्न नसक्दा बन्द भएको हो ।

दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमता रहेको उक्त केन्द्रबाट दैनिक एक हजार २ सय किलोग्राम बायोग्यास र चार सय किलोग्राम जैविक मल उत्पादन हुने गरेको थियो ।  धरानमा दैनिक ३० देखि ३२ टनसम्म फोहोर सङ्कलन हुने गरेको धरान उपमहानगरको वातावरण शाखाले जनाएको छ । फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाको वार्षिक साढे चार करोड खर्च हुने गरेकोमा फोहोर सङ्कलन शुल्कबाट भने करिब साढे दुई करोड मात्र आम्दानी हुने गरेको छ ।  

डम्पिङ साइटमा कवाडी सामान सङ्कलन गर्ने व्यक्तिहरूले फलाम र तामाजस्ता धातु खोज्ने बहानामा रात्रिकालीन समयमा आगो लगाइदिने गरेको उपमहानगरले जनाएको छ ।