इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१ औँ स्थापना दिवसका अवसरमा कृषकले उत्पादन गरेका कृषिउपज तथा सामग्रीको प्रदर्शनी गरेको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकको सीप र श्रमको पहिचान तथा कृषि उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
शुक्रबार आयोजित प्रदर्शनीमा कृषकले उत्पादन गरेका विभिन्न कृषिउपज तथा सामग्री राखिएका थिए । प्रदर्शनीमार्फत् स्थानीय कृषि उत्पादनको सम्भावना, कृषकको मिहिनेत र उत्पादित वस्तुको बजारीकरणका विषयलाई समेत प्राथमिकता दिइएको आयोजकले जनाएको छ । सहकारीले सदस्यको आर्थिक सशक्तीकरणसँगै कृषि उत्पादन र उद्यमशीलतालाई पनि प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको हो ।
स्थापना दिवसकै अवसरमा सहकारी, सञ्चार, कृषि, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति, सदस्य, कर्मचारी र संस्थालाई २३ विधामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी सङ्घ (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा पूर्व क्षितिज प्रकाशन प्रा.लि.का सञ्चालक सुनिल अधिकारीलाई युवा सञ्चार उद्यमीका रूपमा नगदसहित सम्मान गरिएको थियो । लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील अधिकारीले मिडिया उद्यममार्फत् समाज, समुदाय र राष्ट्रप्रति पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको संस्थाले जनाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कार रमेश खतिवडा, दीक्षा भट्टराई र कमला भण्डारीले प्राप्त गरेका छन् । सहकारी अभियानमा योगदान पुर्याएबापत ताराबहादुर काफ्लेलाई सहकारी अभियन्ता सम्मान प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ट सेवाकेन्द्रका रूपमा राजाबास सेवाकेन्द्र तथा उत्कृष्ट लघुवित्त केन्द्रका रूपमा मणिपुर र पञ्चायन केन्द्र पुरस्कृत भएका छन् । पञ्चायन केन्द्रको जिम्मेवारी रमित कार्कीले सम्हाल्दै आएका छन् । रामधुनी नगरपालिका-६ सुनसरीस्थित तेह्र बालबालिका आधारभूत विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ ।
समारोहमा अध्यक्ष ढकालले संस्थाको ३१ वर्षे यात्रामा योगदान पुर्याउने संस्थापक, सदस्य, सञ्चालक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले संस्थाको विकास र विस्तारमा सदस्यको विश्वास, कर्मचारीको समर्पण र व्यवस्थापनको सामूहिक प्रयास महŒवपूर्ण रहेको बताए ।

































