विजयपुर । धरानमा जारी अन्तर्राष्ट्रिय महिला गोल्डकप–२०८३ मा एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भारतको झारखण्डस्थित एक्वा फुटबल क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
धरान–१६ स्थित धरान रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा एपीएफको जितमा पूर्णिमा राईले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत चार गोल गरिन् । उनले खेलको १९औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप तीन गोल गर्दै उनले आफ्नो गोलसंख्या चार पु¥याइन् । उनले दोस्रो हाफको १३औँ, १७औँ र ३३औँ मिनेटमा गोल गरेकी थिइन् ।
त्यस्तै, आशा गाउँलेले खेलको २३औँ मिनेटमा गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । रश्मिकुमारी घिसिङले पहिलो हाफको ३०औँ मिनेटमा तेस्रो गोल थपिन् । उनले दोस्रो हाफको ४५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको जित ७–० ले सुनिश्चित गरिन् ।
चार गोल गरेकी पूर्णिमा राई खेलको प्लेयर अफ द म्याच घोषित भइन् । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ पाउनेछ । त्यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगद र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई भने ईभी स्कुटर प्रदान गरिनेछ ।































