विजयपुर । धरानमा जारी प्रथम अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले सानदार जित निकालेको छ ।

धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा आर्मीले बागमती युथ क्लबलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीको जितमा दीपा शाहीले व्यक्तिगत चार गोल गरिन् भने जेनिफर रानाले ह्याट्रिक पूरा गरिन् । त्यस्तै, विमला चौधरी र तुलसा बोहोराले एक–एक गोल थपेपछि आर्मीले एकपक्षीय जित दर्ता गरेको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको आर्मीले पहिलो हाफमै सात गोल गर्दै बागमतीमाथि दबदबा कायम गरेको थियो। जर्सी नम्बर २३ की दीपा शाहीले खेलको दोस्रो, पाँचौँ, २३औँ र ३८औँ मिनेटमा गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन् । जर्सी नम्बर १५ की विमला चौधरीले १६औँ मिनेटमा गोल गरिन् ।

त्यस्तै, जर्सी नम्बर ८ की जेनिफर रानाले पहिलो हाफको १९औँ र ३३औँ मिनेटमा गोल गरिन्। दोस्रो हाफको ३०औँ मिनेटमा थप एक गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन् । आर्मीकै जर्सी नम्बर २५ की तुलसा बोहोराले दोस्रो हाफको ४०औँ मिनेटमा गोल थपेपछि आर्मीको गोलसंख्या नौ पुगेको थियो।

उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी दीपा शाही खेलको प्लेयर अफ द म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। 

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ क्लब सहभागी छन्। प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

धरान–१६ स्थित रंगशालामा सञ्चालन भइरहेको रात्रिकालीन प्रतियोगितामा दर्शकको उपस्थिति पनि दिनहुँ बढ्दै गएको छ। प्रतियोगिताअन्तर्गत मंगलबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लब र झापाको काँकडभिट्टा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।