धरान । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित मङ्गलबारदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ ।
वि.सं. २०५५ सालमा जारी भएको यो कानुन विभिन्न कारणले लामो समयसम्म कार्यान्वयनमा आउन सकेको थिएन । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पहिलो चरण अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका २१ वटा स्थानीय तहमा यो ऐन लागू गरिएको हो । सरकारले यसअघि गत भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै देशभर तीन चरणमा यो ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार पहिलो चरणको कार्यान्वयन मङ्सिर १ गतेबाट उपत्यकामा सुरु भएको हो ।
सरकारको कार्यतालिकाअनुसार पहिलो चरणमा उपत्यकामा लागू भएपछि, दोस्रो चरणमा आगामी माघ १ गतेदेखि उपत्यका बाहिरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा तथा तेस्रो चरणमा २०८४ साउन १ गतेदेखि देशभरका बाँकी सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ।
यस्ता छन् नयाँ व्यवस्थाका प्रावधान
अनिवार्य स्वास्थ्य परीक्षणः अब उप्रान्त पशुपन्छी बध गर्नुअघि (बधपूर्व) र बध गरिसकेपछि (बधपश्चात्) मासु निरीक्षक (भेटेरिनरी चिकित्सक वा प्राविधिक) बाट अनिवार्य रूपमा स्वास्थ्य जाँच गराउनु पर्नेछ ।
आधिकारिक छाप (स्ट्याम्प): जाँचबाट मानव उपभोगका लागि योग्य ठहरिएको मासुमा मात्र स्पष्ट रूपमा आधिकारिक छाप वा चिह्न लगाइनेछ । छाप नलगाइएको वा जाँच नगरिएको मासु बिक्री-वितरण गर्न पाइने छैन ।
जथाभावी बध गर्न रोकः इजाजतपत्र प्राप्त बधशालाबाहेक खुला सडकपेटी वा जथाभावी स्थानमा पशुपन्छी बध गर्न र मासु बेच्न पूर्ण रूपमा रोक लगाइएको छ ।

































