विराटनगर । सप्तकोशी नदीमा कात्तिक ८ गते तीन जनाको ज्यान जाने र तीन जना बेपत्ता हुने गरी भएको पानीबोट दुर्घटनाको मूल कारण ‘नियमन शून्यता र अवैध सञ्चालन’ रहेको सरकारी छानबिनले पुष्टि गरेको छ ।

यात्रु ओसारपसार गर्ने कुनै पनि निकायबाट वैधानिक इजाजत नै नलिई सञ्चालन गरिएको उक्त बोटमा क्षमताभन्दा बढी यात्रु कोचेर, बालबालिकाका लागि ‘लाइफ ज्याकेट’ समेत नराखी यात्रा गराउँदा ठूलो मानवीय क्षति भएको छानबिन समितिको ठहर छ ।

भोजपुरको हतुवागढी-९ कोप्चेबाट १५ जना बोकेर सुनसरीको चतराघाटतर्फ आउँदै गरेको ‘वराह त्रिवेणी जल यातायात प्रा.लि.’ को आउटबोर्ड मोटर (ओबीएम) बोट धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल त्रिवेणीमा डुबेको थियो । घटनाको सत्यतथ्य बुझ्न कोशी प्रदेश मन्त्रिपरिषद्को कात्तिक १० को निर्णयअनुसार प्रदेश सचिव आशमान तामाङको संयोजकत्वमा गठित १२ सदस्यीय छानबिन तथा अध्ययन समितिले कात्तिक १६ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन बुझाएको छ । स्थलगत निरीक्षण, पीडित, उद्धारकर्ता र प्रशासनसँगको बयान तथा कानुनी दस्तावेजको विश्लेषणपछि समितिले उक्त दुर्घटनालाई ‘भवितव्य’ मान्न अस्वीकार गर्दै सरकारी अकर्मण्यता र व्यवसायीको चरम् हेल्चेक्र्याइँको परिणाम भनेको छ ।

नगरपालिकाको सूचीमै छैन दुर्घटनाग्रस्त कम्पनी
प्रतिवेदनले सप्तकोशी नदीमा भइरहेको जलयातायातको भयावह अराजकता उजागर गरेको छ । चतरादेखि भोजपुरको सिम्लेसम्म करिब १० किलोमिटर र दक्षिणतर्फ वराहक्षेत्र क्षेत्रमा करिब ५ किलोमिटर जलमार्गमा दैनिक २० भन्दा बढी मोटरबोट चल्ने गरेका छन् । तर, दुर्घटनामा परेको वराह त्रिवेणी जल यातायात प्रा.लि. ले यात्रु बोक्ने कुनै कानुनी अनुमति नै नलिएको छानबिनमा भेटिएको छ ।

२०८० मङ्सिर ११ मा कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भए पनि उक्त कम्पनीले जलयात्रा नियमावली, २०६३ बमोजिम सञ्चालन इजाजत लिएको छैन । अझ रोचक त के छ भने, स्थानीय वराहक्षेत्र नगरपालिकामा आ.व. २०८२/०८३ मा व्यवसाय दर्ता गरी सहमति लिएका ६ वटा पानीबोट कम्पनी (वराहक्षेत्र मरिन एण्ड रिसोर्ट, वराहक्षेत्र सप्तकोशी वाटर लायन्स एण्ड रिसोर्ट, दन्तकाली जल विहार, सप्तकोशी जल यातायात, कोशी एड्भेन्चर र माहाकाल वाटर सर्भिसेस) को आधिकारिक सूचीमा समेत दुर्घटनाग्रस्त कम्पनीको नाम अटाएको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालले पनि समितिसमक्ष स्पष्ट कानुनी आधार र नियमन नहुँदा कम्पनी दर्ताकै भरमा व्यवसायीले मनपरी ढङ्गले बोट चलाइरहेको बताएका छन् ।

ओभरलोडिङ र बीच नदीमै इञ्जिन फेल
प्राविधिक विश्लेषणले दुर्घटनाको अर्को गम्भीर पाटो देखाएको छ । दुर्घटनाग्रस्त बोटमा ‘यामाहा एफ ७५ एचपी’ (१.८ लिटर, फोर-स्ट्रोक, फोर-सिलिन्डर पेट्रोल) इञ्जिन जडान थियो । बोट र इञ्जिनको संयुक्त भारवहन क्षमता सामान्यतया ४ सय ५० देखि ६ सय ८० केजी मात्र भए पनि चालकसहित १५ यात्रु र तिनका सामग्रीको तौल क्षमताभन्दा धेरै बढी (ओभरलोडिङ) रहेको प्रतिवेदनको निष्कर्ष छ ।

त्रिवेणीको तीव्र बहावमा दिउँसो करिब २ बजे बोटको इञ्जिन अचानक बन्द भएको थियो । घाइते तीर्थकुमारी मगरका अनुसार चालकले इञ्जिन पुनः चलाउने प्रयास गर्दागर्दै भित्र पानी भरियो र बोट एक्कासि डुब्यो । हाल जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेका २४ वर्षीय चालक सुमन मगरसँग न आधिकारिक लाइसेन्स थियो, न त पर्याप्त तालिम नै । बोटको नियमित यान्त्रिक जाँच कहिल्यै नभएको र नेपालकै सबैभन्दा तीव्र वेगमा बग्ने सप्तकोशी नदीमा यस्ता साना बोट चलाउने उपयुक्ततामाथि हालसम्म कुनै सम्भाव्यता अध्ययन नै नभएको समितिले औँल्याएको छ ।

प्रतिवेदनले जलयातायात क्षेत्रमा विद्यमान कानुनी छिद्रलाई दुर्घटनाको मुख्य जड मानेको छ । पर्यटन ऐन, २०३५ अन्तर्गत बनेको जलयात्रा नियमावली, २०६३ ले ‘जलयात्रा (र्‍याफ्टिङ)’ लाई केवल पर्यटकीय मनोरञ्जन र दृश्यावलोकनमा सीमित राखेको छ । भाडा उठाएर आम सर्वसाधारण ओसारपसार गर्ने सार्वजनिक यातायातका रूपमा मोटरबोट चलाउने स्पष्ट कानुन नै मुलुकमा बनेको छैन ।

त्यस्तै, जलस्रोत ऐन, २०४९ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधानसमेत लत्याइएको छ । वराहक्षेत्र नगरपालिकाले व्यवसाय दर्ताका बेला अन्य निकायको अनिवार्य स्वीकृति लिनुपर्ने सर्त राखे पनि अनुगमन नगर्दा व्यवसायीले अटेर गरेको समितिको ठहर छ । यात्रु तथा तेस्रो पक्ष बीमाको व्यवस्था नहुँदा पीडित परिवार कानुनी क्षतिपूर्तिबाटै बञ्चित हुने स्थिति छ । यद्यपि, लापरबाहीपूर्वक ज्यान जोखिममा पारेर बोट चलाएको ठहर भएमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ (दफा १८२/१८३) र परिच्छेद २० अनुसार चालक र सञ्चालकमाथि ज्यानसम्बन्धी कसूरमा फौजदारी कारबाही हुने बाटो खुला रहेको प्रतिवेदनमा उल्लेख छ ।

सप्तकोशीमा २०७५ असोजबाट व्यावसायिक बोट सेवा सुरु भएको थियो । बर्खामा (जेठ-असोज) बाढीका कारण बन्द हुने र कात्तिकदेखि वैशाखसम्म चल्ने बोटहरूले पहाड-तराईको यात्रा छोट्याए पनि सुरक्षा चुनौती उस्तै छ । प्रतिवेदनअनुसार सन् १९६८ मा सर एड्मन्ड हिलारीको अन्वेषण टोलीका बेला अरुण नदीमा ‘शोर्फ’ बोट डुबेको थियो भने २०७६ भदौ २७ मा कोशीमा जेटबोट दुर्घटना र २०८० कात्तिक १६ मा सशस्त्र प्रहरीको प्रदर्शन रिपोर्टिङका क्रममा मोटरबोट पल्टिँदा पाँच पत्रकार घाइते भएका थिए ।

अवैध बोट तत्काल रोक्न र तीन महिनाभित्र इजाजत लिन सिफारिस
समितिले सप्तकोशीको जलयात्रालाई सुरक्षित नबनाएसम्म दुर्घटना नरोकिने निष्कर्षसहित कोशी प्रदेश सरकारलाई तत्काल कडा कदम चाल्न सुझाव दिएको छ । प्रतिवेदनमा जलयात्रा नियमावली, २०६३ बमोजिम इजाजत नलिएका सबै पानीबोटको सञ्चालन तत्काल रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिन र तीन महिनाभित्र अनिवार्य अनुमतिपत्र लिएर मात्र चलाउन दिन सिफारिस गरिएको छ ।

यस्तै, सञ्चालनमा रहेका सम्पूर्ण बोटको अभिलेखीकरण गरी दर्ता, बीमा, चालक योग्यता र प्राविधिक परीक्षण तत्काल सुरु गर्न स्थानीय तह र नियामक निकायलाई तोकिएको छ । बिमा व्यवस्था लागू नभएको अवस्थामा मृतक तथा बेपत्ताका परिवारलाई प्रदेश मन्त्रिपरिषद्बाट राहत र क्षतिपूर्तिको निर्णय गर्न भनिएको छ । संविधानको अनुसूची-६ र ७ अनुसार जलमार्ग प्रदेश र सङ्घको अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश सरकारले यथाशीघ्र जलयात्रा कानुन निर्माण गर्ने र सङ्घीय छाता कानुनका लागि सङ्घीय सरकारमा प्रस्ताव पेस गर्ने समितिको निष्कर्ष छ ।

दुर्घटनामा परेका १५ यात्रुको अवस्था
समितिको प्रतिवेदनअनुसार दुर्घटनामा सुनसरी वराहक्षेत्र-१ का लीला राई (५८), उदयपुर बेलका-९ का रत्नबहादुर नेपाली (५५) र भोजपुर हतुवागढी-७ की आर्या राई (५) को मृत्यु भएको छ । झापा कनकाई-४ का सुयोग मगर (७), सुनसरी वराहक्षेत्र-१ की प्रमिला मगर (२१) र मनिका राई (२३) अझै बेपत्ता छन् । चालक वराहक्षेत्र-१ का सुमन मगर (२४) प्रहरी हिरासतमा छन् । यस्तै, झापा कनकाई-४ की तीर्थकुमारी मगर (२७), वराहक्षेत्र-१ का मोहन सुनार (३१) सहित भोजपुर हतुवागढी-४ का विष्णु सुनार (४५), तीर्था रसाइली (४२), पूजा तिरुवा (२५), प्रज्वल तिरुवा (२२), देवेन्द्र राई (२६) र रजित राई (२३) सकुशल उद्धार भएका छन् ।

‘लाइफ ज्याकेट नपाउँदा आमाको हातबाटै बगेका थिए बालक’
दुर्घटनामा पाँच वर्षीया आर्या राईको ज्यान गयो भने सात वर्षीय सुयोग मगर अझै कोशीमै बेपत्ता छन् । बोटमा सवार वयस्कहरूले लाइफ ज्याकेट लगाएकै कारण बाँच्न सफल भए पनि ती दुई बालबालिकाका लागि मिल्ने लाइफ ज्याकेट नै बोटमा नराखिएको तथ्य पीडितको बयानबाट खुलेको छ ।

उद्धारपछि बाँचेकी झापा कनकाई-४ की २७ वर्षीया तीर्थकुमारी मगरले समितिसमक्ष भावविह्वल हुँदै भनेको कुरा उल्लेख गरिएको छ । “बोटमा हामी ठूला सबैले लाइफ ज्याकेट लगाएका थियौँ, तर मेरो ७ वर्षको छोराको लाइफ ज्याकेट थिएन । पानीमा डुब्न लाग्दा मेरो हातबाट बच्चा छुट्यो”-मगरले भनेकी छन् ।

घटनालगत्तै उद्धारमा खटिएका अर्का बोट पाइलट खगेस (खगेन्द्र) श्रेष्ठले पनि वयस्क यात्रुहरू लाइफ ज्याकेटकै कारण पानीमा तैरिरहेकाले बचाउन सहज भएको खुलाएका छन् । दिउँसो १ बजेर ५५ मिनेटमा सजीव श्रेष्ठबाट फोनमार्फत् खबर पाएलगत्तै उनले आफ्नो बोटका यात्रुलाई सुरक्षित किनारमा ओरालेर खाली बोट त्रिवेणी पुर्‍याएका थिए । २-३ मिनेटभित्रै नदीमा बग्दै आएका ११ जनालाई उनले बाहिर निकाले पनि सिकिस्त तीन जनाको भने चतरा अस्पतालमा मृत्यु भएको थियो ।