धरान/एमाले धरान नगर कमिटी अधिवेशनको प्रचारात्मक अभियानअन्तर्गत बुधबार बिहान मैत्रीपूर्ण फुटवल खेल भएको छ ।
पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको मैदानमा प्रेस चौतारी धरान नगर समिति र एक नम्बर क्षेत्रीय समितिबीच भएको मैत्रीपूर्ण खेलमा चौतारीले २–१ गोल अन्तरले क्षेत्रीय समितिलाई पराजित गरेको थियो ।
चौतारीका भोजराज श्रेष्ठले पहिलो र धीरेन लिम्बूले दोस्रो गोल गरेका थिए । क्षेत्रबाट एकमात्र सान्त्वना गोल भएको थियो । विजेता र उपविजेता टिमलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णकुमार राईले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।
सांसद राईले रेफ्रीलाई बल प्रदान गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा नगर अध्यक्ष तारा सुब्बा, क्षेत्रीय सचिव रेवतीरमण राई लगायत उपस्थित थिए । बैशाख १७ र १८ गते हुने एमाले धरान नगर अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।