इटहरी/ सेभेन स्टार क्लब इटहरीद्वारा आयोजित दोस्रो राष्ट्रिय इटहरी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टीम नेपाल पुलिस क्लब रातोले हात पारेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा सिवाइसी अत्तरिया कैलालीलाई ३ रनको अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङ्मा आएको सिवाइसी अत्तरियाले १ सय १४ रनमा समेटिएपछि पुलिसले जित हात पारेको हो ।
विजेता पुलिस क्लबले पुरस्कारस्वरुप ३१ हजार एक सय ११ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा म्यान अफ दी म्याच नवीनसिंह थापा भए । उपविजेता टीमलाई १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरियो । समापन समारोहका प्रमुख अतिथि पूर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष रविन नगरकोटीले नगद तथा पुरस्कार प्रदान गरेकमा थिए । इटहरी वडा नं. २० को सेभेन स्टार क्लबको आयोजनामा भएको सो प्रतियोगितामा दसवटा टीमको सहभागिता थियो ।