धनकुटा / शहीद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको १२ औं संस्करणको लागि शनिबार भएको उद्घाटन खेलमा आयोजक धनकुटा ११ ले विजयी शुरुआत गरेको छ । शनिबार अपराह्न भएको खेलमा आयोजक धनकुटा ११ ले रावत कन्स्ट्रक्सन मोरङ ११ लाई १ का विरुद्ध ३ गोल गर्दै यो वर्षको प्रतियोगिताको विजयी शुरुआत गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको २२ औं मिनेटमा आयोजकका जर्सी नं. ११ का सुजल श्रेष्ठले डिबक्सभन्दा बाहिरबाट हानेको बल विपक्षी मोरङ ११ को गोलपोष्टमा जाली चुमेको थियो । आयोजक टिम धनकुटा ११ ले पहिलो हाफमा शून्यका विरुद्ध मोेरङ ११ लाई एक गोल गर्दै पहिलो हाफमा अग्रता लिएको थियो ।
त्यसैगरी, दोस्रो हाफको दोस्रो मिनेटमा आयोजक धनकुटा ११ का जर्सी नं.३ का सागर गुरुङले डिबक्सभित्र मोरङ ११ का जर्सी नं.७ का मिलन धिमाललाई लडाएपछि मोरङ ११ ले पेनाल्टीमार्फत् एक गोल गरी खेल बराबरीमा पु¥याएको थियो । पेनाल्टी सकिएलगत्तै दोस्रो हाफको ११ औं मिनेटमा धनकुटा ११ का जर्सी नं.१४ का बुद्ध चेम्जोङले पुनः एक गोल गरेपछि मोरङ ११ लाई एकका विरुद्ध २ गोलले आयोजक धनकुटालाई अग्रता दिलाए ।
दोस्रो हाफको २१ औं मिनेटमा आयोजक धनकुटाका जर्सी नं.१४ कै बुद्ध चेम्जोङले गोल गरेपछि मोरङ ११ लाई एकका विरुद्ध तीन गोलले पछि पार्दै आयोजक धनकुटा ११ ले विजयी शुरुआत गरेको हो । दोस्रो हाफको ३७ औं मिनेटमा धनकुटा ११ का जर्सी नं. १४ का बुद्ध चेम्जोङले हानेको पासले पुनः सुजल श्रेष्ठले एक गोल गरेको भए पनि रेफ्री सुदिस पाण्डेले गोललाई मान्यता दिएनन् ।
उद्घाटन खेलमा आयोजक धनकुटा ११ विरुद्ध पटक–पटक कर्नर र दर्जनौं प्रहार आयोजक धनकुटा ११ को गोल पोष्टमा हाने पनि विजय हात पार्न मोरङ ११ सकेनन् । पहिलो दिनको उद्घाटन खेलमा मोरङ ११ का जर्सी नं. ११ का विजय धिमाल र आयोजक ११ का जर्सी नं.३ का सागर गुरुङले एल्लो कार्ड पाएका थिए ।
खेलको म्यान अफ दि म्याच धनकुटा ११ का जर्सी नं.१४ का बुद्ध चेम्जोङ घोषित भए । आइतबार (आज) हुने खेलमा अघिल्लो वर्षको उपविजेता नाइजेरियन खेलाडीले सुशोज्जीत ब्वाइज युनियन काठमाडौँ र गोधुँली क्लब सुनसरीबीच हुने आयोजकले जनाएको छ । उद्घाटन खेल शहीद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।