उर्लाबारी/ उर्लाबारीमा जारी पाँचौ मदन–भण्डारी स्मृति गोल्डकपको बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ४–० ले विजयी भएको छ ।
बिहीबार भएको क्वाटरफाइनल खेलमा आर्मीले पाहुना टोली भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित ग¥यो । शुरुदेखि नै दबाबमा राखेको आर्मीले पहिलो र दोस्रो गरी दुवै हापको खेलमा २÷२ गोल गरेको थियो । आर्मीको जीतमा स्ट्राइकर नवयुग श्रेष्ठले २ तथा कप्तान भरत खवास र विमल रानाले एक÷एक गोल गरेका थिए । खेलको १४ औं मिनेटमा गोल गर्दै नवयुगले आर्मीलाई अग्रता दिलाएका थिए । टिमका लागि दोस्रो गोल पहिलो हापकै ४१ औं मिनेटमा कप्तान भरत खवासले गरेका थिए ।
खेलको ६४ औं मिनेटमा विमल राणाले तेस्रो गोल गरेका थिए भने ७९ औं मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै आर्मीको जीत सुनिश्चित गरे । प्रतियोगितामा आर्मीका कप्तान भरत खवास म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । सेमिफाइनलको पहिलो खेल आयोजक मदन भण्डारी प्रतिष्ठान नेपाल र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुने आयोजक समितिका सदस्य सचिव रुद्रबहादुर तामाङले बताए ।
यसैबीच बुधबार भएको खेलमा खेलमा एपिएफले ३–१ को अन्तरले चर्च व्याइज काठमाण्डौलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो ।