धरान / किरात राई जातिहरुले आफ्नो महान चाड साकेला उभौली मनाइरहदा किरात राज्य प्राप्तिको लागि प्रचारात्मक अभियानलाई पनि निरन्तरता दिइरहेको छ । किरात राई यायोक्खाको किरात राज्य प्राप्तीको अभियानलाई साथ दिदै आइतबार धरान १५ स्थित बिग फुट फुटसलमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । किरात राई खेलकुद संघ जिल्ला समिति सुनसरीले आयोजना गरेको फुटसलमा विभिन्न ५ वटा क्लबले सहभागीता जनाएको थियो । फाइनलमा आयोजक संघ र धरान ८ स्थित यलम्बर क्लबबीच स्पर्धा भएको थियो । जसमा यलम्बर क्लबले १३–७ गोलअन्तरले आयोजकलाई हरायो । मैत्रीपुर्ण प्रतियोगितामा आयोजक संघ, यलम्बर क्लब, कल्याण युथ क्लब धरान ११, किरात मञ्च नेपाल र बिग फुट फुटसलको टिमले भाग लिएको थियो ।
यायोक्खा सुनसरीका उपाध्यक्ष वलराम राईले रचनात्मकरुपमा किरात राज्य प्राप्तीको अभियानलाई अघि बढाउने क्रममा यायोक्खा र उसका भातृ संगठनहरु लागिपरेको बताए । खेलेर, लेखेर, गाएर, नाचेर सबैले आ आफ्नो तरिकाबाट अधिकार प्राप्तीको लागि किरात राज्य स्थापना गराउन सक्रिय हुनुपर्ने उनले बताए । यायोक्खाका जिल्ला सहसचिव राजेन्द्र राईले थप प्रष्ट्याउदै भने–‘छैटौं राष्ट्रिय सम्मेलनबाट यायोक्खाले किरात राज्यको अवधारणा अघि सारेको थियो, त्यसैअनुसार साकेला उभौलीलाई साँस्कृतिक उत्सवसँगै किरात राज्य प्राप्ती अभियानसँग जोडेका हौं ।’ पहिचानको आधारमा संघीय प्रदेश बनाउदा किरात स्वायत्त राज्य हुनुपर्ने उनले बताए ।
आयोजक खेलकुद संघका अध्यक्ष विकास राईले यायोक्खाको किरात राज्य प्राप्तीको अभियानलाई निरन्तरता दिन संघले फुटसल आयोजना गरेको बताए । अभियान अन्र्तगतनै जेष्ठ १८ गते इटरीमा किराया इटरी नगर समितीसंग मैत्रिपुर्ण भलिवल पनि खेलिने उनले वताए । यसअघि पनि संघले बिहिबार धरान ८ स्थित यलम्बर बास्केटवल कोर्टमा यलम्बर क्लबसँग मैत्रीपुर्ण बास्केटवल खेल आयोजना गरेको उनले जानकारी दिए ।