बिर्तामोड/ गत चैतमा सम्पन्न प्रथम रमपम झापा गोल्डकपमा २४ लाख ७३ हजार रुपैयाँ बचत भएको छ । आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गरेको हो ।
समितिले प्रस्तुत गरेको आय–व्ययमा ८२ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको उल्लेख छ । प्रतियोगिता सम्पन्न गर्न ५७ लाख ४३ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । प्रतियोगिता सम्पन्न भएको झण्डै दुई महिनापछि सार्वजनिक भएको प्रतिवेदनमा बचत रकमले झापा ११ पूmटबल क्लब र डोमालाल रङ्गशालाको स्तरोन्नती गरिने उल्लेख छ ।
आयोजक समितिका अध्यक्ष होम पाण्डेका अनुसार स्वघोषित सहयोगबाट १२ लाख ४६ हजार, प्रायोजक र दाताबाट २७ लाख ५८ हजार, सिजनल टिकट बिक्रीबाट १ लाख ७३ हजार, साना ब्यानरबाट ९० हजार र प्रवेश टिकट बिक्रीबाट ३९ लाख ५० हजार रुपैयाँ आम्दानी भएको छ ।
पत्रकार सम्मेलनमा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले प्रतियोगिता सम्पन्न गर्न पाएको साथले यो गोल्डकपलाई निरन्तरता दिन हौसला बढेको बताए । उनले झापाली एकजुट भए जस्तोसुकै कठिन काम पनि सहज ढङ्गले सम्पन्न गर्न सक्छन् भन्ने उदाहरण तयारी गर्न थालेको तीन सातामा मोफसलकै ठूलो गोल्डकप सम्पन्न गरेबाट प्रमाणित भएको बताए ।
झापा ११ को जुनियर टोली कोकाकोला यु–१९ राष्ट्रिय प्रतियोगितामा छनौट भएको छ । यस खेलले झापा ११ लाई थप परिचित बनाउने विश्वास गुरुङको छ । नेपालका प्रतियोगितामध्ये सबैभन्दा बढी दर्शक झापामा आउने   उनले बताए ।
झापा ११ ले खेलेको एउटा म्यचमा १४ लाख ७० हजारसम्म गेटमनि सङ्कलन भएको जानकारी उनले दिए । झापा जिल्लालाई पूmटबल शहरका रुपमा विकसित गर्ने उद्देश्यले सञ्चालन गरिएको गोल्डकपलाई निरन्तरता दिने आयोजक कमिटीले जनाएको छ ।