Blagopal-Maharjan

धरान/नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशको ए डिभिजन क्लवलाई प्रशिक्षण दिने भएका छन् । उनी नयाँ सिजनका लागि बंगलादेशको ए डिभिजन क्लव ‘ब्रदर्स युनियन’को प्रशिक्षक नियुक्त भएका हुन् ।

ब्रदर्स युनियन बंगलादेशको प्रिमियर लिग टोली हो । सन् २०१३/१४ को सिजनमा यस क्लवले पाँचौं स्थानमा रहेर लिग टुंग्याएको थियो । बिदेशी ए डिभिजन क्लवमा प्रशिक्षणको अवसर पाउने महर्जन पहिलो नेपाली प्रशिक्षक हुन् । उनले ब्रदर्स युनियनसँग ३ महिनाको सम्झौता गरेका छन् । क्लवले नै प्रस्ताव गरेपछि उनी बंगलादेश जान तयार भएका हुन् । उनी विदेशी ए डिभिजन क्लवलाई प्रशिक्षण दिने पहिलो नेपाली पनि हुनेछन् ।

लामो समय एन्फा एकेडेमीको प्रशिक्षण गरेका बालगोपालले गत बर्ष नेपाली टोलीको प्रशिक्षकका रुपमा दुई उपाधि दिलाएका थिए । गत भदौमा नेपालले अण्डर नाइन्टीन साफ च्याम्पियनसीपको उपाधि जित्दा उनी टोलीका मूख्य प्रशिक्षक थिए । उपाधि बिजेता सोही टोलीका धेरैजसो खेलाडी समावेश गरिएको बंगबन्धु गोल्डकपको उपाधि नेपाली अण्डर २३ टोलीले बंगलादेशमै जितेको थियो । त्यस टोलीमा पनि महर्जन प्रशिक्षक थिए ।

बंगलादेशको ब्रदर्स युनियन महर्जनको पूर्व क्लव पनि हो । खेलाडीका रुपमा उनले त्यस क्लवमा तीन सिजन बिताएका थिए । सन् १९९१, ९२ र ९३ मा उनले ब्रदर्स युनियनबाट व्यवसायिक फुटबल खेलेका हुन् । सन् १९९१ मा उनको टोलीले बंगलादेश फेडेरेसन कपको उपाधिसमेत जितेको थियो ।

सन् १९७५ मा बंगलादेशको ए डिभिजन क्लवमा बढुवा भएको ब्रदर्स युनियन सन् २००४ को सिजनमा बंगलादेशको ए डिभिजन च्याम्पियन बनेको थियो । त्यस्तै २००३/४ र ०५ को सिजनमा दुई पटक बंगलादेश प्रिमियर लिगको उपाधि जितेको थियो भने २००५ मा बंगलादेश फेडेरेसन कप पनि जितेको थियो । त्यसयता यस क्लवले ठूलो उपाधि जित्न सकेको छैन ।अनलाईनबारबाट