धनकुटा/ जनचेतना सार्वजनिक पुस्तकालय तथा साँस्कृतिक समूह धनकुटा–१ हिलेको संयुक्त आयोजनामा सम्पन्न ११ औं अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भएको खर्चको विवरण सोमबार सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजक समितिले प्रतियोगिता सम्पन्न गर्ने क्रममा सहयोग गर्ने सहयोगदाता, स्थानीय सञ्चारकर्मी र आयोजक समितिका पदाधिकारीमाझ आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो ।
कार्यक्रममा समितिका संयोजक भोगेन्द्र थापाले प्रतियोगिता सम्पन्न गर्न ३ लाख २७ हजार ३ सय ७६ रुपैयाँ आम्दानी भएकोमा ३ लाख ८५ हजार ६ सय ६१ रुपैयाँ खर्च भएको बताए । उनले प्रतियोगिता सम्पन्न गर्न सहयोग प्राप्त भएको रकमले प्रतियोगिताको सम्पूर्ण खर्च नधानेपनि सहयोग रकम उठ्न बाँकी रहेको बताए । थापाले प्रतियोगितामा भएको खर्चमा ५८ हजार २ सय ८५ रुपैयाँ तिर्न बाँकी रहेको समेत जनाए ।
प्रतियोगिता गत वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको थियो । खर्च सार्वजनिक तथा प्रतियोगिताको समीक्षा कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष उमेश घिमिरेले आगामी वर्षदेखि प्रतियोगितालाई व्यवस्थित गर्न छुट्टै सशक्त खालको व्यवस्थापन समिति गठन गर्नुपर्नेमा जोड दिए । यसैगरी हिलेका व्यवसायी निरेन तामाङले प्रतियोगिता सम्पन्न गर्न स्थायी स्रोतको खोजी गरेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी हिलेका समाजसेवी सीताराम श्रेष्ठ, व्यवसायी फुर्वा तामाङ, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तितुङ तामाङ, बुद्धिजीवी गौरव कार्की लगायतले आगामी वर्ष आयोजना हुने १२ औं रामनवमी अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रातियोगिताको अवसरमा पाँच दिनसम्म हिले रामनवमी उत्सव समेत आयोजना गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी सबैलाई आयोजक समितिका अध्यक्ष भोगेन्द्र थापाले धन्यवाद ज्ञापन गर्दै आगामी वर्षदेखि व्यवस्थित ढङ्गले भलिबल प्रतियोगिता तथा हिले उत्सव आयोजना गर्न आग्रह गरेका थिए ।