पाँचकन्या/ धरानको इन्द्र–बराह फुटबल क्लबले दोस्रो टंकीसिनुवारी गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि जितेको छ । टंकीसिनुवारीमा शनिबार भएको फाइनल खेलमा साविक बिजेता एलोभेन एरोज क्लब दुहवीलाई ०–१ गोल अन्तरले पराजित गर्दै उपाधि हुत्याएको हो । उसले बुधबारको खेलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चललाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो ।
पहिलो हाफमा इन्द्र–बराहका कर्ण लिम्बूले १ गोल गरेपछि सोही गोल नै निर्णायक बनेको थियो । बिजेता इन्द्र–बराहले नगद १ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी हात पार्न सफल बनेको छ । यस्तै, उपविजेता ५१ हजार रुपैयाँ पाएको थियो । यस्तै, सर्वोत्कृष्ट खेलाडी पिटरले ५ हजार, सर्वाधिक गोलकर्ता इन्द्र बराह कर्ण लिम्बूले ५ हजार रुपैयाँ पाए । उनले खेल अवधिभर ४ गोल गर्न सफल बनेका थिए । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले विजेता टिमलाई ट्रफी, मेडल, प्रमाण हस्तान्तरण गरे । यस्तै द्वितीय पुरस्कार सांसद् अमन मोदीले प्रदान गरे भने उत्कृष्ट खेलाडीलाई टङ्की सिनवारी गाविसका अध्यक्ष शिवनारायण मण्डलले पुरस्कृत गरे । खेलको म्याद अफ दि म्याच इन्द्र–बराहका हेमन्त थापा मगर घोषित भएका थिए । सुवोध कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका शाखा प्रमुख मानबहादुर विश्वकर्मा (दियाली), निवर्तमान गाविस अध्यक्ष भुवनेश्वर मण्डललगायत करिब ७ हजार दर्शकको उपस्थिति रहेको प्रचार प्रसार समितिका संयोजक कपिल सुनारले जानकारी दिए ।