manab-taskar-employment-foreign-320x190भद्रपुर / पछिल्लो समय भद्रपुर क्षेत्र मानव तस्करको अखडा बन्न थालेको छ । झापा सदरमुकाम भद्रपुर लगायत वरपरका सीमा क्षेत्रबाट महिलाहरु पक्राउ पर्न थालेसँगै यो स्थान मानव तस्करको ट्रान्जिट पोइन्ट बन्न थालेको हो । झापासहित देशका विभिन्न जिल्लाबाट ल्याइएका युवती तथा महिलालाई विभिन्न प्रलोभनमा पारेर भद्रपुर नाकाबाट भारत हुँदै वैदेशिक रोजगारीका लागि विदेश पठाउन थालेको घटना सार्वजनिक भएपछि भद्रपुर नाका मानव तस्करको लागि सुरक्षित भएको प्रष्ट हुन्छ । गत बुधबार भद्रपुर वडा प्रहरी कार्यालयले विशेष सुराकीको आधारमा मानव तस्करीमा संलग्न भएको आरोपमा एक व्यक्तिलाई ९ थान राहदानीसहित पक्राउ गरेपछि यस्तो घटना सतहमा आएको हो । दुई युवतीलाई प्रहरीले उद्धार गरी भद्रपुरकी एक महिलालाई समेत नियन्त्रणमा लिएको थियो । प्रहरीले मोरङ वयरवन–३ बस्ने ३८ वर्षीय गणेशबहादुर लावतीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लावतीसँग भारत जान लागेका सुनसरीको धरान २२ बस्ने २३ वर्षीया विष्णुमाया मगर (सन्ध्या) र सोही स्थानका २४ वर्षीया देवी लिम्बूलाई उद्धार गरेको झापाका डिएसपी हरिप्रसाद शर्माले बताए । लावती मेनपावर सञ्चालक र एजेन्टको रुपमा काम गर्दैआएका छन् भने उद्धार गरिएका युवतीद्वय भारतको दिल्लीबाट विदेश जान लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार भद्रपुर नगरपालिका–५ गिरीचोक बस्ने ५३ वर्षीय उषा थापा मगरले भद्रपुरबाट मानव तस्करीको काम गर्दैआएको सुराक आएपछि प्रहरीले दुई दिन अघिदेखि नै उनीमाथि निगरानी बढाएको थियो । प्रहरीले निगरानी बढाएपछि बुधबार बिहान एजेन्ट लावतीले ती दुई युवतीलाई सोही दिन बिहान उनको घर लगेका थिए । डेढ घण्टाको लामो वार्तापछि उनीहरु चारैजना किनमेलका लागि भारत जाने भनी भद्रपुर नाकाहँुदै पारी जान लागेका थिए । चारैजना भन्सार सीमा क्षेत्रमा पुगेको बेला उनीहरुलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको थियो । वडामा सोधपुछको क्रममा झापा र सुनसरीका गरी नौ महिलाको राहदानी फेला परेपछि चारैजनालाई अनुसन्धानका लागि झापा प्रहरी कार्यालय पठाएको थियो । थप अनुसन्धानको लागि पठाइएका चारैजनामध्ये भद्रपुरका उषा थापा मगरलाई झापा प्रहरीले सोही दिन छाडिदिएको छ । संलग्नता नदेखिएको भन्दै उनलाई छाडिदिएको डिएसपी शर्माले बताए । एजेन्ट लावतीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताउँदै उद्धार गरिएको महिलालाई साना हात नामक संस्था भद्रपुरलाई जिम्मा लगाइसकेको डिएसपी शर्माले बताए । यसैगरी असार १५ गते भद्रपुर नाकाबाटै नेपालगञ्ज बाँके फत्तेपुर गाविस–९ की ३३ वर्षीया विना ओली र नुवाकोट नर्जामण्डल गाविस–३ का २१ वर्षीया हिरामाया तामाङलाई उद्धार गरेको थियो । वैदेशिक रोजगारीका लागि भारत हिँडेका ती दुई महिलालाई साना हात नामक संस्थाले भन्सार नाकाबाट उद्धार गरी वडा प्रहरीलाई जिम्मा लगाएको थियो । झापा भद्रपुर–१५ की ३६ वर्षीया मलिना कटुवाल (श्रेष्ठ) ले ती दुई महिलालाई काठमाडौंबाट झापा ल्याएको र भारतबाट विदेश पठाउन लागेको खुलेको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि एजेन्ट भनिएका कटुवालसँग तीन थान नेपाली नागरिकता फेला परेको थियो । तीनैजनालाई वडा प्रहरीले थप अनुसन्धानको लागि झापा प्रहरी कार्यालय पठाएको थियो । प्रहरीले अनुसन्धानपछि तीनैजनालाई माइती नेपाल काँकडभिट्टालाई जिम्मा लगाइसकेको झापा प्रहरीले जनाएको छ ।