भद्रपुर । पूर्वीनाका काँकडभिट्टाबाट चियाको निर्यात ९० प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढीले बढेको हो ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को असोज महिनामा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८२÷८३ को असोजमा भने २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढीले बढेको छ भने निर्यातबाट प्राप्त आम्दानी पनि झण्डै दोब्बर पुगेको छ ।

काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ ।

पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित नेपाली चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ ।