धरान / आठौं पटक आमरण अनसन बसेका प्रा.डा. गोविन्द केसीको समर्थनमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु उत्रिएका छन् ।
उनीहरुले विज्ञप्ति जारी गर्दै डा. केसीको समर्थनमा मैनबत्तिसमेत बालेका छन् । डा. केसीमो माग पूरा गर्न सम्बन्धित निकायलाईसमेत आह्वान गरेका छन् ।
विद्यार्थीहरुले भनेका छन् ‘तीन करोड नेपाल जनताको स्वास्थ्यमाथि भइरहेको खेलबाड, भ्रष्टाचार र अनियमिततालाई रोक्न थालिएको कदमप्रति हाम्रो समर्थन छ ।’
मेडिकल शिक्षामा भइरहेको बिकृति विसंगति विरुद्धमा डा. केसीले सत्याग्रहमार्फत आन्दोलन छेडिरहेका छन् ।
मेडिकल शिक्षा ऐन तत्काल पारित गरी नेपालको मेडिकल शिक्षाको गुणस्तरलाई कायम राख्न हामी डा। केसीको साथमा रहेको बताएका छन् ।
उनीहरुले विज्ञप्तिमा भनेका छन् ‘हाम्रा यी तमाम मागहरूप्रति वेवास्ता गर्दै सरकार गैरजिम्मेबार बनिरहे यही आगोको झिल्को डढेलोको रुप लिनसक्ने समेत चेतावनी दिन चाहन्छौँ ।’