विजयपुर । जिल्ला प्रहरी कार्यालय सुनसरीले २०८३ साल असोज महिनामा ५ हजार २९२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। प्रहरीले सोही अवधिमा ७०.२८ ग्राम ब्राउन सुगर र ८ हजार १०६ पिस ट्याब्लेट तथा क्याप्सुलसमेत बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज महिनामा लागूऔषधसम्बन्धी कसुरमा ६९ जना पक्राउ परेका छन् भने १५ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्।

फैसला कार्यान्वयनमा ३८ जना पक्राउ

प्रहरीले फैसला कार्यान्वयनतर्फ असोज महिनामा ३८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको हकमा २३ वर्ष ३ महिना १ दिन कैद सजाय कार्यान्वयन गर्नुपर्ने तथा १० लाख ४६ हजार ६७४ रुपैयाँ ३४ पैसा जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ। त्यस्तै, भन्सार चोरी निकासी नियन्त्रणका क्रममा प्रहरीले ७२ लाख ३१ हजार १८७ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। यस क्रममा चार जना पक्राउ परेका छन् भने २५ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्।

गोली प्रहार घटनामा पाँच जना पक्राउ

सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्येहर्षाहीमा एक युवकलाई गोली प्रहार गरिएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

२०८३ साल असोज ३ गते साँझ भएको घटनामा देवानगञ्ज गाउँपालिका–१, मध्येहर्षाहीका रामदेव यादवका २४ वर्षीय छोरा निरज कुमार यादव पीडित भएका थिए। घटना बिपी चोकबाट करिब ८०० मिटर पूर्वोत्तरमा रहेको लक्ष्मीनारायण मन्दिर नजिक भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णु कुमार यादव, २६ वर्षीय जयकृष्ण यादव, करिब २७ वर्षीय कुन्दन यादव, २६ वर्षीय रणधिर यादव र २३ वर्षीय सुशील यादव पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कारागारबाट फरार दुई कैदी नियन्त्रणमा

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये असोज महिनामा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये एक जना जगन्नाथदेवल कारागार र अर्का एक जना झुम्का कारागारका कैदीबन्दी रहेको विवरणमा उल्लेख छ।