choriबेलबारी/ पूर्वाञ्चलमा भएका विभिन्न आपराधिक तथा ठगीका घटनाहरुलाई सुल्झाउन प्रहरीले एकपछि अर्को सफलता पाउन थालेको छ । क्षेत्रीय प्रहरी अनुसन्धान समूह (रिट) विभिन्न ठूल्ठूला आपराधिक घटनाका अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको छ । पछिल्लोपटक डेढ महिनाअघि मात्र मोरङको बेलबारी–२ का सुनचाँदी व्यवसायी डम्बर सिन्चौरीको २० लाख ठगी गर्ने  अभियुक्तलाई पक्राउ गर्न प्रहरी सक्षम भएको छ । विभिन्न प्रलोभनमा पारेर २० लाख ठगी गर्ने झापाको शरणामती–५ का ६१ वर्षीय धनपति भट्टराईलाई प्रहरीले पक्राउ गरी शनिबार बेलबारीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । बेलबारी इलाका प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अभियुक्त भट्टराईलाई सार्वजनिक गरिएको हो । जेठ २६ गते सिन्चौरीलाई ७५ तोला सुन बिक्री गर्ने भन्दै ठगी गरेर उनी फरार भएका थिए । उनलाई क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह र बेलबारी इलाका प्रहरी कार्यालयको सक्रियतामा पक्राउ गरिएको हो । गत असार २८ गते काठमाडौँको तिलगङ्गा आँखा अस्पतालमा उपचार गर्न लाइनमा बसिरहेका बेला भट्टराई पक्राउ परेको डीएसपी कृष्णप्रसाद पङ्गेनीले जनाए । आपूmलाई सुनको ठूलो व्यापारी बताउने भट्टराईले ज्वेलर्सका प्रोप्राइटर सिन्चौरीलाई बेलबारीमा सुनको डिलर दिने प्रलोभनमा पारेर यसअघि पनि एकपटक कारोबार गरेका थिए । यसअघि सिन्चौरीले उनीबाट १० तोला सुन खरिद गरेका थिए । तर पछिल्लोपटक ७५ तोला सुन खरिद गर्ने क्रममा सिन्चौरी ठगिएका हुन् । उनको २० लाख लिएर भट्टराई फरार रहेका थिए । पीडित सिन्चौरीका अनुसार कोशीहरैंचा नपा–१ स्थित लेगुवा होटलमा उनीहरुको भेट भएको हो । सिन्चौरीले भट्टराईबाट सुन खरिद गर्न भनेर उनलाई २० लाख बुझाएका थिए तर सुन लिएर आउने मान्छे केही ढिलो आएको बहानामा भट्टराईले ‘अब यहाँ कारोबार नगरौँ, तपाईंकै पसलमा गरौँ’ भन्दै भट्टराईले २० लाख राखेको सिन्चौरीको ब्याग फिर्ता गरे । सुन लिएर आउने मान्छेसँगै आउने भनेर भट्टराई गए तर उनलाई ब्याग फिर्ता गरेर भट्टराई निकै बेर नआएपछि शंका लागेर ब्यागमा हेर्दा सिन्चौरीले कागजको गड्डी मात्र भेटे । कागजको पोको मात्र देखेपछि सिन्चौरीले आपूm ठगिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । ठगीपश्चात् पनि आपूm यतै भएको र सुन लिएर आउँदै गरेको भन्दै उनी भक्तपुरतिर भागेका थिए । प्रहरीले भट्टराईको मोबाइल नम्बर र अनुसन्धानका विभिन्न विधिमार्पmत् पछ्याउँदै जाँदा उनी काठमाडौँबाट पक्राउ परेका हुन् । उनको साथबाट १० लाख नगद र तीनवटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । ठगी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप भई उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसबाहेक उदयपुरको सनराइज बैङ्कका सुरक्षा गार्डको हत्याका अभियुक्तका साथै इलामका व्यापारी दिनेश रेग्मी र ताप्लेजुङका अलैँची व्यापारी लालबाबु खड्काका हत्यारालाई पनि पक्राउ गर्न पनि प्रहरी सफल भएको छ । त्यस्तै, झापाका विभिन्न चर्चहरुमा बम विस्फोटन गर्ने र सिरहाको मिर्चैया–७ मा भएको डकैतीमा संलग्न दोषीलाई समेत पक्राउ गर्न प्रहरी सफल भएको डीएसपी पङ्गेनीले जनाए । त्यसैगरी विभिन्न आपराधिक घटनामा फरारमध्ये ५४ जनालाई पक्राउ गरिएको र उनीहरुबाट असुल हुने रकम ३ करोड ९२ लाख ५८ हजार ७ सय २१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यसलाई प्रहरीले ठूलो सफलताको रुपमा लिएको डीएसपी पङ्गेनीले बताए ।