धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागस्थित प्लास्टर कोठाका लागि धरानका समाजसेवीले एसी सहयोग गरेका छन् । 

धरान २ रत्नरोड निवासी कृष्णप्रसाद श्रेष्ठको परिवारले करिब एक लाख रुपैयाँ मूल्य बराबरको एसी बुधबार सहयोग गरेको हो । कालीशक्ति ओम स्मृति प्रतिष्ठानले उक्त एसी प्रदान गरेको हो । प्लास्टर गर्ने कोठामा अत्याधिक गर्मी हुने भएकाले दाताहरुलाई सहयोग मागेर जडान गर्न लागिएको हाडजोर्नी विभागका प्राध्यापक डाक्टर विक्रमप्रसाद श्रेष्ठले जानकारी दिए । 

हाडजोर्नी विभागमा दैनिक ३ सयभन्दा बढी बिरामीहरु ओपिडीका लागि मात्रै आइपुग्छन् भने त्यसमध्येमा कतिपय बिरामीको प्लास्टरलगायत गर्नुपर्ने हुन्छ । जसका लागि कोठामा अत्याधिक गर्मी हुने भएकाले एसीका लागि दातासँग सहयोग मागिएको उनले जानकारी दिए । “जाडोको बेला त खासै समस्या हुँदैन, गर्मीको समयमा यहाँ काम गर्न सक्ने अवस्था हुँदैन” उनले भने । प्रतिष्ठानका अस्पताल निर्देशक डा. इन्द्र लिम्बूलाई सहयोगी दाताका तर्फबाट समाजसेवी कृष्णप्रसाद श्रेष्ठले हस्तान्तरण गरेका थिए ।